BIZMANDU
www.bizmandu.com

उत्तरी नाका बन्दले कपडादेखि गाडीसम्मको आयात प्रभावित, दसैंका सामान ३०% मात्र बजारमा

२०८३ असोज १२

उत्तरी नाका बन्दले कपडादेखि गाडीसम्मको आयात प्रभावित, दसैंका सामान ३०% मात्र बजारमा
उत्तरी नाका बन्दले कपडादेखि गाडीसम्मको आयात प्रभावित, दसैंका सामान ३०% मात्र बजारमा


काठमाडौं। दसैं सुरु हुन दुई सातामात्रै बाँकी छ। चीनबाट नेपाल आउने चाडपर्व लक्षित सामानको आपूर्ति प्रभावित हुँदा सम्बद्ध व्यवसायी त चिन्तामा छन् नै, सर्वसाधारण पनि प्रभावित हुने अवस्था आएको छ।

Vigo
GBIME
Tata

रसुवागढी र तातोपानी नाका बन्द रहेकै अवस्थामा वैकल्पिक रूपमा प्रयोग गरिएको मुस्ताङको कोरला नाका पनि आइतबारको बाढीपहिरो र हिमपातका कारण प्रभावित भएको छ। यसले चीनबाट आयात हुने तयारी पोसाक, जुत्ताचप्पल, ब्याग, इलेक्ट्रोनिक्स सामानदेखि विद्युतीय सवारीसाधनसम्मको ढुवानी रोकिएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका प्रभावित भएपछि व्यवसायीले चीनबाट आउने सामानलाई कोरला नाकातर्फ ‘डाइभर्ट’ गरेका थिए। त्यसअघि नै गत साउनदेखि तातोपानी नाकाबाट आयात-निर्यात ठप्प थियो। आइतबार माथिल्लो मुस्ताङमा हिमपात भयो भने तल्लो मुस्ताङमा भारी वर्षा। कालीगण्डकीमा बाढी आयो। बेनी-जोमसोम-कोरला सडकका विभिन्न भाग क्षतिग्रस्त भए।

बाढीपहिरो र हिमपातले पुल तथा सडकमा क्षति पुर्‍याएपछि कोरला हुँदै आएका सामान पनि नेपालतर्फ ल्याउन रोकिएको हो।

कोरला नाकाबाट भन्सार प्रक्रिया पूरा गरेका तथा सामान लोड गरिएका १५० वटाभन्दा बढी कन्टेनरसमेत उपत्यका आउने बाटो नहुँदा विभिन्न स्थानमा रोकिएका छन्।

महाबौद्धका आयातकर्ता रमेशकुमार श्रेष्ठका अनुसार दसैंलाई लक्षित गरेर आयात गरिएको सामानमध्ये करिब ३० प्रतिशत मात्रै बजारमा आइपुगेको छ। उनले तातोपानी र रसुवागढी नाकाबाट ल्याउने तयारी गरिएको सामान बाटो बन्द भएपछि कोरला नाकातर्फ पठाइए पनि ठूलो परिमाणमा बाटोमै रोकिएको बताए।

‘दसैंतिहारको व्यापारका लागि करोडौंको सामान हालेका थियौं। त्यसमध्ये ३० प्रतिशत आइपुग्यो। बाँकी नेपाल र चीनको बाटोमै रोकिएको छ। अब न रि रुट गरेर फर्काउन मिल्छ न कोरलाबाट तल ल्याउन,’ श्रेष्ठले भने।

मुस्ताङतर्फ आएको बाढीपहिरो र हिमपातका कारण सडक तथा पुलमा क्षति पुगेपछि रोकिएका सामान तत्कालै उपत्यका ल्याउने अवस्था नरहेको व्यवसायीको भनाइ छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बाढीले पुल भत्काएको छ। स्थानीय जनप्रतिनिधिका अनुसार खोलाको बहाव कम नभएसम्म क्षतिग्रस्त पुल निर्माण गर्न सकिने अवस्था छैन।

धेरै ठाउँमा सडक क्षतिग्रस्त भएको छ। यसको मर्मतमा समय लाग्ने भएपछि भन्सारमा रोकिएका सामानसमेत तत्काल ढुवानी गर्न नसकिने अवस्थाले व्यापारी तनावमा छन्। श्रेष्ठका अनुसार दसैंलाई लक्षित गरेर आयात गरिएका कपडा, जुत्ताचप्पल र ब्याग नाकामै रोकिएको छ।

पानीजहाजबाट मगाएका सामान पनि सडक अवरुद्ध हुँदा भित्रिन सकेका छैनन्। मुस्ताङबाट पोखरा आइपुगेका कन्टेनरलाई काठमाडौं ल्याउन छुट्टै कष्ट छ।

एक कन्टेनर सामान तीनवटा गाडीमा राखेर त्रिभुवन राजमार्ग हुँदै ल्याउनुपर्दा लागत बढेको श्रेष्ठले बताए। ‘कस्टिङ महँगो हुँदा पनि सामान समयमा आइपुगेको छैन,’ उनले भने।

आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालका अनुसार दसैंका लागि आयात गरिएका अधिकांश सामान बजारमा आइपुगेका छैनन्। अहिले बजारमा चाडपर्व लक्षित करिब २५ देखि ३० प्रतिशत सामान मात्रै आएको उनको भनाइ छ।

‘सामान आउन सुरु हुने समयमा बाढी गयो। बाढीले आयात गरेको सामान धेरै बगाएको छ। बाढीअघि र पछि गरेर करिब २५ देखि ३० प्रतिशत सामान बजारमा आएको छ,’ दाहालले भने, ‘अब बाटो बनेर सामान आए १० देखि १५ प्रतिशत सामान दसैंअघि आइपुग्न सक्छ। बाँकी मुस्ताङ र कोरलामा भएको सामान बाटो नबनेसम्म पर्खने र अर्को वर्ष बेच्ने हो। यसबाहेक व्यवसायीसँग अरू विकल्प छैन।’

दाहालका अनुसार अहिले थोक बजारमा दसैंका सामान खरिद गर्न चहलपहल सुरु भइसकेको छ। आयात कम भए पनि बजारमा सामानको पूर्ण अभाव भने नभएको उनले बताए। नयाँ सामान पर्याप्त नआए गत वर्षको जस्तै नयाँ र पुरानो स्टकबाटै बजारको माग धान्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

व्यवसायीका अनुसार उपत्यकाबाहिर सामान पठाउन समेत बाटोका कारण समस्या भएको छ।

चीनबाट आयात हुने विद्युतीय सवारीसाधनको ढुवानीसमेत प्रभावित भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार दसैंअघि सवारीसाधन डेलिभरी गर्न अहिले क्षतिग्रस्त सडक र पुल छिटो मर्मत गर्नुको विकल्प छैन।

उनका अनुसार गत वर्ष पनि सडक समस्याकै कारण दसैंको नवमीमा मात्रै कतिपय सवारीसाधनको डेलिभरी सुरु भएको थियो। यस वर्ष पनि सडक र क्षतिग्रस्त पुल समयमै मर्मत नभए अटो व्यवसायीले ठूलो कारोबार गुमाउनुपर्ने अवस्था आउने उनले बताए।

‘चाडपर्वमा डेलिभरी गर्न वा सेल्स गर्न नसकेको अवस्थामा त्यसलाई पछि गर्छु भनेर रिकभर गर्न सकिँदैन। यसले बिजनेसलाई नराम्रोसँग असर गर्छ। आफ्नो टार्गेटअनुसार गाडी पाएनन् भने ग्राहकले बुकिङसमेत ड्रप गर्छन्,’ उप्रेतीले भने, ‘जसले गाडी बुकिङ लिएका छन्, उनीहरू गाडी कसरी ल्याउने भन्नेमा लागिरहेका छन्।’

मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत विदुर चुडालका अनुसार कोरला नाकाबाट आयात भएका धेरै विद्युतीय गाडी तथा सामान सडक अवरुद्ध हुँदा भन्सारमै रोकिएका छन्। म्याग्दी-बागलुङतर्फको सडक नबनेसम्म भन्सार पास भएका सामानसमेत बाहिर पठाउन सक्ने अवस्था नरहेको उनले बताए।

हिमपातका कारण पछिल्ला दुई दिनयता मुस्ताङ भन्सारको कामसमेत प्रभावित भएको छ।

टेक्सस लजिस्टिकका सञ्चालक रमेश श्रेष्ठका अनुसार रसुवागढी र तातोपानीबाट ल्याउने तयारी गरिएका चाडपर्व लक्षित सामान रसुवाको बाढीपछि कोरला नाकाबाट ल्याउन थालिएकामा मुस्ताङमा भारी हिमपात भएपछि सामान लोड-अनलोड तथा भन्सार प्रक्रियासमेत प्रभावित भएको छ।

उत्तरी नाका लगातारको अवरोधसँगै मुख्य सडकसमेत प्रभावित हुँदा चीनबाट आयात हुने सामानको आपूर्ति शृंखला नै दबाबमा परेको छ। दसैंको माग उच्च हुने समयमा नयाँ सामानको आपूर्ति अवरुद्ध भएपछि व्यवसायीले सीमित मौज्दातबाट बजार धान्नुपर्ने अवस्था देखिएको छ।