BIZMANDU
www.bizmandu.com

पहिरोका कारण देशभरका १४ प्रमुख सडक प्रभावित, केहीमा एकतर्फी यातायात

२०८३ असोज १२

पहिरोका कारण देशभरका १४ प्रमुख सडक प्रभावित, केहीमा एकतर्फी यातायात
पहिरोका कारण देशभरका १४ प्रमुख सडक प्रभावित, केहीमा एकतर्फी यातायात


काठमाडौं। लगातारको वर्षापछि आएको पहिरोका कारण देशभरका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडक प्रभावित भएका छन्। सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Vigo
GBIME
Tata

सडक विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत चालिसे-धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ। धादिङतर्फको चैनिजदेखि फिस्लिङतर्फको पहिरो हटाउने काम जारी छ। चामवास लगायतका स्थानमा पहिरो हटाएपछि एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ।

नारायणगढ–मुग्लिन सडक अन्तर्गत सिमलताल नजिक आधा सडक भासिएको छ। उक्त स्थानमा एकतर्फी यातायात सञ्चालनमा रहेको विभागले जनाएको छ।

बीपी राजमार्गमा माथि, पिप्ले, डाडाकोट, घुमाउने, काभ्रे लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगाएका कारण सडक अवरुद्ध छ। सडक खुलाउने कार्य जारी रहेकाले थप क्षति नभए भोलि साँझसम्म सडक खुलाउन सकिने सम्भावना रहेको विभागले जनाएको छ।

कान्ति राजमार्ग अन्तर्गत ४ स्थानको पहिरोमध्ये ३ स्थानमा हटाइएको छ। नवलपुरको टाँकुङ हटाउने काम भइरहेको र भोलि बिहानसम्म दुईतर्फी रूपमा सडक खुलाउने लक्ष्य राखिएको छ।

त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत गोरीमाडी सडक खण्डमा चितवनको घाँघर खोलाको एप्रोच रोडको विङ वालमा क्षति पुगेको छ। हाल हलुका सवारीसाधन मात्रै सञ्चालनमा छन्।

मध्यपहाडी राजमार्ग अन्तर्गत मध्यनेपाल नगरपालिका-८ मा पहिरोका कारण सडक अवरुद्ध छ। घोडाघोडी-बुढीनन्दा खण्डमा साना सवारीका लागि यातायात सुचारु भए पनि बुढीनन्दा-निसीखोला खण्डमा पहिरो तथा सडक कटानका कारण पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ। पर्सीसम्म यातायात सुचारु हुने निसी-पातीहाल्ने खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ।

कालीगण्डकी करिडोरमा यातायात अवरुद्ध छ। बेनी-जोमसोम, पाल्पा, बाग्लुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त हुनुका साथै पुलको एप्रोचसमेत भत्किएको छ। पहिरो पन्छाउने काम जारी रहेको र सम्पूर्ण सडक सुचारु हुन केही दिन लाग्ने विभागको अनुमान छ।

तमोर करिडोर (मूलघाट-चतरा) मा यातायात सञ्चालनमा रहे पनि केही स्थानमा सडक अवरोध तथा पहिरोका कारण यातायात प्रभावित भएको छ। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-खाराबाङ-दुनडौली खण्डमा यातायात सुचारु भइरहेको छ।

कर्णाली राजमार्ग अन्तर्गत गगने खोला, राँका तथा वाइगोरसिम-दहीखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध छ। पहिरो हटाउने काम जारी रहेको विभागले जनाएको छ।

भानुभक्त-चक्रपथ-लेनिनबास सडकमा पहिरो तथा डुबानका कारण हाल सञ्चालनमा आएको छ।

त्यस्तै बेंसीसहर-चामे सडकमा मनाङको नासों गाउँपालिका तथा चामे गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडक प्रभावित भएको छ। राम बजारको पहिरो खुलाउने काम आज बेलुकासम्म सकिने र सम्पूर्ण सडक सुचारु हुन करिब तीन दिन लाग्ने विभागले जनाएको छ।

त्रिभुवन राजपथमा यातायात सञ्चालनमा रहे पनि पहिरो पन्छाउने काम जारी छ। सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकमा पनि अवरोध रहेकाले हालसम्म २ स्थानमा पहिरो हटाइएको र भोलिसम्म यातायात सञ्चालन हुने विभागको विवरणमा उल्लेख छ।

सडक विभागले वर्षा याममा पहिरो, डुबान, सडक भासिने, नदी तथा खोलाको बहाव बढ्ने र थप सडक कटान हुन सक्ने जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरेको छ।

पूर्ण रूपमा अवरुद्ध सडक खण्डमा यात्रा नगर्न तथा एकतर्फी वा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा समेत अत्यन्त सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। साथै स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सडक विभागका प्राविधिक टोलीले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ। विभागले अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण, हेभी मेसिन तथा जनशक्ति परिचालन गरी काम भइरहेको जनाएको छ।