काठमाडौं। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरेको हो।
गत भदौ १० गतेको भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालन गरिएको थियो। टावर सञ्चालनका लागि आवश्यक डिजेल हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो।
सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमले टिमुरे-खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरिएको जनाएको छ।

टिमुरे क्षेत्रमा अब टेलिकमको टुजी तथा फोरजी सेवा सहज रूपमा सञ्चालन हुने भएको छ।