काठमाडौं। नेकपा एमालेका सांसद डा. अर्जुन कार्कीले चीनसँगको व्यापारका लागि किमाथांका नाका सञ्चालनमा ल्याउन माग गरेका छन्।
उनले सोमबार प्रतिनिधि सभाको बैठकमा चीनसँगका तीनवटै नाका अवरुद्ध भएकाले अब किमाथांका नाका सञ्चालनमा ल्याउन सरकारकव ध्यानाकर्षण गराएका हुन्। उनले भन्सार र अध्यागमन कार्यालय स्थापना गरेर नाका सञ्चालनमा ल्याउन माग गरे।
‘रसुवा, तातोपानी र कोरला नाका अवरुद्ध भएका छन्। सबैभन्दा छोटो र सुरक्षित, नेपाललाई चीनसँग जोड्ने मार्ग भनेको किमाथांका भन्ने विशेषज्ञहरुले भनेका छन्। किमाथांका-खाँदबारी सडकलाई द्रुत गतिमा निर्माण गर्न तथा किमाथांकामा भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने।
किमाथांका-जोगबनी खण्ड छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो सडक मानिन्छ। मोरङको रानी नाकादेखि खाँदबारीसम्मको सडक कालोपत्रे भइसके पनि खाँदबारीबाट किमाथांकासम्म ट्र्याक खोल्ने मात्र काम भएको छ। खाँदबारी-किमाथांकाको दूरी १६२ किलोमिटर छ।
रसुवा नाका भदौ १० गतेको बाढीले बन्द छ भने तातोपानी नाका भदौ १४ देखि चीनले बन्द गरेको छ। यस्तै कोरला नाकाबाट सामान भित्र्याउन पनि बाढी पहिरोले असर गरेको छ।