BIZMANDU
www.bizmandu.com

चोलेन्द्रसँग भेटिएको त्यो गम्भीर कनेक्सन, जसले रातारात बालेनको टिमले नियन्त्रणमा लिन लगायो

२०८३ असोज १२

चोलेन्द्रसँग भेटिएको त्यो गम्भीर कनेक्सन, जसले रातारात बालेनको टिमले नियन्त्रणमा लिन लगायो
चोलेन्द्रसँग भेटिएको त्यो गम्भीर कनेक्सन, जसले रातारात बालेनको टिमले नियन्त्रणमा लिन लगायो


काठमाडौं। सर्वोच्च अदालतले असोज ८ गते विवादास्पद व्यापारी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्‍यो।

Vigo
GBIME
Tata

भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ पेस गर्न विशेष अदालत, प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लगायतका नाममा आदेश जारी गरेपछि संयुक्त राष्ट्रसंघको महासभामा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहदेखि उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार वेनसम्मलाई तरंगित बनायो।

स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका भट्टलाई छुटाउने तयारी भएको बुझाइमा उनीहरु पुगे। त्यसपछि गृहमन्त्री सुधन गुरुङलाई भट्टको बन्दी प्रत्यक्षीकरण मुद्दामा चलखेल भएका बारेमा बुझ्न भनियो।

स्रोतका अनुसार सुधनले सर्वोच्च अदालतदेखि जेल लगायत सबै निकायबाट सूचना संकलन गरेर न्यूयोर्कमा रहेका प्रधानमन्त्री बालेनको टिमलाई ब्रिफिङ गरे। त्यो ब्रिफिङपछि बालेन बेचैन थिए।

स्रोतका अनुसार भट्टको बन्दी प्रत्यक्षीकरण रिटलाई सकेसम्म दसैं अगाडि नै टुंग्याउने तयारी रहेको र यसमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको प्रमुख हात रहेको सूचना प्रधानमन्त्रीको टिमले पाएको थियो।

नख्खु कारागारमा रहेका भट्टले टेलिफोनमार्फत कुराकानी गरेको सबै डेटा संकलन गरिएको थियो। ती सबै डेटामार्फत पनि सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दामा सेटिङ गरिसकेको पाइएको स्रोतले बतायो। कारागारमा रहेको ल्यान्डलाइनबाट टेलिफोन गर्ने सुविधा हुन्छ।

‘भट्टको मुद्दामा धेरै ठूलो राजनीतिक चलखेल भएको पाइएपछि पूर्वप्रधानन्यायाधीश राणालाई उनको मोबाइलमा भएका कुराकानी लिन र आगामी दिनमा यस्ता चलखेल नगर्नका लागि सचेत गराउन नियन्त्रणमा लिइएको हो,’ उच्च स्रोतले भन्यो, ‘भट्टसँग ठूलो रकमको बाइन्डिङ गरेर संसद् पुनर्स्थापनाको योजना समेत रहेछ। संसद् पुनर्स्थापनासँगै उनलाई राष्ट्रपतिको लोभ देखाइएको रहेछ।’

संसद् पुनर्स्थापना गरी चुनावबाट आएको दुई तिहाई नजिकको सरकार ढलाएर निर्वाचन गराउने योजना बनाएको थाहा पाएपछि त्यसलाई विफल बनाउनका लागि प्रधानमन्त्रीको टिमले हस्तक्षेप गरेको स्रोतले बतायो।

बालेन प्रधानमन्त्री बनेपछि भट्टविरुद्धको मुद्दा फास्ट ट्र्याकमा अगाडि बढाइएको थियो। राज्यसत्ता कब्जा गरेर साम्राज्य खडा गरेको जानकारीपछि प्रधानमन्त्री बालेन र उनको टिमले भट्टमाथि निर्ममरुपमा प्रस्तुत हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कर्मचारीलाई निर्देशन दिएका थिए।

सरकार बनाउने र ढाल्नेसम्मको शक्ति यसअघि पटक पटक देखाइसकेका भट्टले खडा गरेको साम्राज्य निमिट्यान्न नपारेसम्म आफूहरुलाई सहज नहुने उनीहरुको बुझाइ थियो।

आइतबार राति यस्तो भएको थियो

सबै सूचना संकलनपछि पूर्वप्रधानन्यायाधीश राणाले भट्टको मुद्दामा खेलेको स्पस्ट भयो। त्यसपछि उनीविरुद्ध एक्सन लिने तयारी भयो। आइतबार राति ९ बजे राणामाथि कारबाही गर्ने विषयमा गृहमन्त्री सुधन पनि जानकार थिए।

प्रधानमन्त्री बालेनको टिम र गृहमन्त्री सुधनले यस विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई जानकारी गराए। तर, पछि एकाएक प्रधानमन्त्रीको टिमले आज कारबाही नगर्ने भन्यो।

स्रोतका अनुसार आज कारबाही नगर्ने भनेपछि गृहमन्त्री सुधन बाहिरिए। त्यसपछि एकाएक प्रधानमन्त्रीको टिमले राणालाई राति नै नियन्त्रणमा लिन प्रहरीलाई खबर गर्‍यो।

‘आइजीपीले अन्तिम अवस्थामा मात्र थाहा पाउनु भएको हो। जसरी पनि पक्राउ गर्नुपर्ने आदेश छ भनेपछि उहाँले त्यसो भए गर्नु भन्नु आएको थियो,’ प्रहरी स्रोतले भन्यो। तर, आइजीपी दानबहादुर कार्की राणालाई पक्राउ गर्न लागेकामा खुशी थिएनन्।

स्रोतका अनुसार राणालाई नियन्त्रणमा लिने विषयमा एआइजी मनोज केसीलाई पनि जानकारी दिइएको थियो। ‘राणालाई नियन्त्रणमा लिन प्रधानमन्त्रीको टिमले ट्याक्टफूल्ली काम गरेको थियो। त्यही भएर गृहमन्त्रीलाई समेत अन्तिम समयमा मात्रै थाहा भएको हो,’ स्रोतले भन्यो।

राणाको मोबाइलको कल-म्यासेज कब्जा

शनिबार मध्यराति महाराजगञ्जबाट नियन्त्रणमा लिइएका राणाको दुईवटा मोबाइलको सबै म्यासेज प्रहरीले आफ्नो कब्जामा राखेको छ।

स्रोतका अनुसार मोबाइलमा रहेको ह्वाट्सएपको म्यासेज प्रहरीले लिएको छ। त्यो सबै म्यासेज प्रधानमन्त्रीको टिमले पाएको छ।

स्रोतका अनुसार म्यासेजमा राणा र सर्वोच्चका न्यायाधीशबीच कुराकानी भएको भेट्टिएको छ। ‘राणाले पछिल्लो समयमा गरेका सबै म्यासेज प्रधानमन्त्रीको टिमले पाएको छ। न्यायालयभित्रका धेरै विषय गम्भीर देखिएका छन्,’ स्रोतले भन्यो।