काठमाडौं। विपक्षी दलहरुले सरकारमाथि गुण्डागर्दी गरेको र दादागिरी देखाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीलाई लिएर सरकारमाथि आतंक सिर्जना गरेको आरोप लगाएका हुन्।
नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा गरिएको पक्राउ राज्य आतंक, गुन्डागर्दी, निरंकुशता र स्वेच्छाचारिताको नमुना भएको बताए।

‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ,’ उनले भने, ‘एउटा व्यक्तित्वलाई हुर्मत लिएर पक्राउ गर्ने काम गर्यो, यो सरकारले राज्य आतंक सिर्जना गरेको छ। गुन्डागर्दी गरेको छ। र यो एक प्रकारको निरङ्कुशता र स्वेच्छाचारिताको नमुना प्रस्तुत गरेको छ। म यसको भर्त्सना गर्न चाहन्छु।’
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकार एकपछि अर्को गरी अराजकताको बाटोमा हिंडेको आरोप लगाए। उनले सरकारले देशलाई आफ्नो पेवा जस्तो ठानेको भन्दै उकपटक चुनाव जितेका आधारमा आफ्नो बिर्ता नठान्न चेतावनी दिए।

‘पूर्वप्रधानन्यायाधीशलाई विना प्रक्राउ पुर्जी समातेर सरकारले फेरि एकपटक गैरकानुनी राज्यको दृष्टान्त देखायो। देश कानुनी बाटोमा हिंड्दैछ कि अराजकताको बाटोमा? यस प्रशनको जवाफ दिन सरकारसँग जोडदार माग गर्छु,’ उनले भने, ‘गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि हुनेलाई? यसको जवाफ पनि सरकारले दिनुपर्छ र यो दादागिरी अन्त्य गर्नुपर्छ। के गरेपछि यस्तो पागलपन आउँछ? यो देश हाम्रो पनि हो। देश ५ वर्षको जिम्मा लिएको सरकारको पेवा होइन। देशलाई बिर्ता जसरी चलाउन पाइँदैन।’
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई शनिबार मध्यराति निवासबाट पक्राउ गरिएकामा चौतर्फी आलोचनापछि शनिबार अपराह्न रिहा गरिएको थियो।