काठमाडौं। संसदीय समितिले सवारी सञ्चालन तोकिएको स्थानबाट टिकट बिक्री गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले सोमबार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवायी र ट्राफिक प्रहरीलाई बोलाएर छलफल गरी यात्रुले सहजरुपमा टिकट पाउने व्यवस्था गर्न भनेको हो।
‘यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, टिकटमा अनियमितता वा ठगी बेहोर्नुपर्ने अवस्था आउने नदिने गरी सहज टिकट पाउन, भाडादरको प्रभावकारी कार्यान्वयन र गुनासो सुनुवाइको बलियो व्यवस्थासहित कार्ययोजना तत्काल तयार गरी लागू गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ।
समितिले चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सडकको अवस्था तथा सम्भावित जोखिमको पूर्वमूल्यांकन, वैकल्पिक मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्न पनि भनेको छ।
क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि समितिले निर्देशन दिएको छ।
बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढीले अवरुद्ध भएका सडक खुलाउने काम धमाधम भइरहेको भन्दै धेरै क्षति भएको बीपी राजमार्ग पनि दसैंअघि सञ्चालनमा आउने बताए। उनका अनुसार कालीगण्डकी करिडोरमा बेनीदेखि जोमसोमसम्म ४६ ठाउँमा अवरोध छ।
बैठकमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ खुला गर्नुभन्दा यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु ठूलो कुरा भएको भन्दै त्यसका लागि बाढी पहिरोले भएको अवरोध तत्काल हटाउनुपर्ने बताए। ‘यात्रुबाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्यो। यो बेलामा लामो दूरीमा चल्ने गाडीलाई रिजर्व गर्न दिनु भएन,’ उनले।
सिटौलाले व्यवसायीले दसैंमा बस भाडा नबढाउने बताए। ‘पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म बस भाडा बढ्दैन,’ उनले भने।