BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह

२०८३ असोज १२

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह


काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन्।

Vigo
GBIME
Tata

दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरेका छन्।

भेटमा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले परियोजना तयारीका लागि एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत अनुदान सहायता उपलब्ध गराउने बताइन्। साथै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा राखिन्।

अध्यक्ष जोउले एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याइन्।

भेटमा अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले बैंकको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे।

यस्तै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरे। मन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न आग्रह गरे।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।