BIZMANDU
www.bizmandu.com

सेयर बजार बढाउने सरकारको प्रयास विफल, लचिलो नीतिले किन गरेन काम?

२०८३ असोज १२

सेयर बजार बढाउने सरकारको प्रयास विफल, लचिलो नीतिले किन गरेन काम?
सेयर बजार बढाउने सरकारको प्रयास विफल, लचिलो नीतिले किन गरेन काम?


काठमाडौं। सेयर बजार बढाउने सरकारको प्रयास विफल देखिएको छ। सरकारले पुँजीगत लाभकर ५० प्रतिशत घटाउनेदेखि सुधारका अन्य योजना ल्याउँदा पनि लगानीकर्तामा गिरेको कन्फिडेन्स नफर्किंदा बजार माथि जान नसकेको हो।

Vigo
GBIME
Tata

सरकारले बजार बढाउन नीतिगत हिसाबले पूर्णरुपमा साथ दिंदा पनि त्यसको प्रभाव देखिएको छैन।

अर्थ मन्त्रालयले भदौ २९ गते सेयर बजार पुनरुत्थान तथा सुदृढ कार्ययोजना ल्याएको प्रभाव स्वरुप भोलिपल्ट नेप्से सूचक ४८.५७ अंकले बढेर २६३३ विन्दुमा पुग्यो। तर, त्यो वृद्धि २४ घण्टा पनि टिक्न सकेन। ३१ गते नेप्से २१.१९ अंकले घट्यो।

असोज १ मा ११.९३, २ गते २२.८५ र ६ गते ७ अंकले बढेर २६५४ विन्दुमा पुगेको नेप्सेमा ७ गते ३६.२५ अंकको पहिरो गयो। बिहीबार ११.७७ अंकले बढे पनि नेप्से सेयर बजार सुधारको योजना ल्याइएको भोलिपल्ट भन्दा तल अर्थात २६२९ अंकमा छ।

यसलाई कतिपयले लगानीकर्ताको कन्फिडेन्स बढाउने गरी नीति फेर्दा समेत सरकारप्रति अझै भरोसा नदेखिएको रुपमा अर्थ्याएका छन्।

‘सरकार लगानीकर्तामा कन्फिडेन्स बढाउन लागिरहेको छ। तर, बजारमा सबै कुरा पोजेटिभ हुँदाहुँदै पनि लगानीकर्तामा अझै कन्फिडेन्सको कमी देखिएको छ,’ स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘जे गर्दा बजार र कन्फिडेन्स बढ्ने हो त्यसै अनुसार सरकारले काम गरिरहेको छ। ब्याजदर, तरलता, कर यति सहज अवस्थामा छन्, तर पनि त्यसको प्रभाव देखिएको छैन। लगानीकर्ता मनोवैज्ञानिक रुपमा अझै तयार हुन नसकेको हो कि?’

नयाँ सरकार बनेयता सेयर बजार ४३७ अंकले घटेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत लिएको कर नीति नै फेरेर भदौ २९ गते पुँजीगत लाभकर आधा घटाउने निर्णयसहित २१ बुँदे सुधार योजना ल्याएका थिए।

पुँजीगत लाभकर एक वर्षभन्दा बढी होल्ड गरेको सेयरमा ३.७५ प्रतिशत र त्यो भन्दा कम अवधिको सेयरमा ५ प्रतिशत झार्ने स्वर्णिमको निर्णय मन्त्रिपरिषद्ले असोज २ गते अनुमोदन गरेको थियो। त्यति मात्र होइन लगानीकर्तालाई पुँजीगत लाभकरमा घाटा समायोजन गर्न सकिने व्यवस्था समेत गरिएको छ।

स्वर्णिमले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएर एक वर्षभन्दा बढी होल्ड गरेको सेयर बिक्रीमा हुने नाफामा ७.५० प्रतिशत र त्यो भन्दा कम अवधि होल्ड गरेको सेयर बिक्रीमा हुने नाफामा १० प्रतिशत पुर्‍याएका थिए।

२१ बुँदे कार्ययोजनापछि सेयर बजार उकास्ने प्रयासस्वरुप बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ। बैंक तथा वित्तीय संस्थाले यसअघि ६ महिनासम्म होल्ड गर्नुपर्ने व्यवस्था रहेकामा नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलरमार्फत त्यो अवधि ४५ दिनमा झारिदिएको छ।

सरकार र नियामक निकायबाट बजारका लागि एकपछि अर्को सकारात्मक प्रयास हुँदा पनि अनुकूल सूचकका बाबजुद् बजार माथि जान नसक्नुलाई विश्लेषकहरु लगानीकर्ता अझै पनि त्रसित रहेको रुपमा अर्थ्याउँछन्।

लगानीकर्ता सरकारसँग त्रसित भएका कारण लगानीमैत्री नीतिका बाबजुद नेप्सेले अगाडिको बाटो समात्न नसकेको उनीहरुको बुझाइ छ। ‘सरकारले सुरुमा जुन धरपकड गर्‍यो, त्यसबाट लगानीकर्ता त्रसित भए। जसले गर्दा सरकारले एकपछि अर्को बजारमैत्री नीति लिंदा पनि उनीहरु अझै विश्वस्त हुन नसकेको देखियो,’ सेयर बजारका एक विश्लेषकले भने।

चैत १३ गते नयाँ सरकार बन्नुअघि २९५० विन्दुमा रहेको नेप्से परिसूचक निरन्तर ओरालो लागेर भदौ १५ गते २५१३ अंकमा आएको थियो। यो अवधिमा लगानीकर्ताको सम्पत्ति ५ खर्ब रुपैयाँ घट्यो। चैत दोस्रो साता ५० खर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण अहिले ४५ खर्बमा छ।

सेयर बजार बियरिस भएपछि सरकारले लचिलो नीति लिइरहँदा लगानीका लागि सूचक पनि अनुकूल छन्। बैंकको ब्याजदर अहिलेसम्मकै तल्लो विन्दुमा छ। बैंकहरुमा ऋणको माग नहुँदा तरलता थुप्रिएको छ।

लगानीयोग्य करिब १६ खर्ब रुपैयाँ थुप्रिएपछि बैंकले ६ प्रतिशतभन्दा तल आएको आधार दरमा कर्जाका अफर ल्याइरहेका छन्। ब्रोकरहरुले पनि मार्जिन कर्जा दिइरहेका छन्। राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा हटाउनेदेखि आफ्ना तर्फबाट गर्नु पर्ने कुनै काम बाँकी राखेको छैन।

यी तमाम अवस्थाका बाबजुद नेप्सेले भर्‍याङ चढ्नै सकेको छैन। ब्रोकरहरु भने बजारका लागि सरकार र नियामकले आवश्यक सबै कुरा दिइसकेकाले अब विस्तारै त्यसको प्रभाव दिनेमा आशावादी छन्।

‘बजारलाई सहयोग पुग्ने प्रकारका नीति नियम आउँदा आजको भोलि नै प्रभाव नपर्न सक्छ। त्यसको प्रभाव पछि देखिने गरेको छ। लगानीकर्तामा विस्तारै कन्फिडेन्स बढ्ने अपेक्षा छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेले भने, ‘अहिले फण्डामेन्टल हिसाबले राम्रो भएका र प्रतिफल दिन सक्ने कम्पनीतिर लगानीकर्ता गएको देखिन्छ।’

गानीकर्ताका लागि पहिलो त्रैमास लाभांशको सिजन हो। सूचीकृत कम्पनीहरुले पोहोरको मुनाफाबाट लगानीकर्तालाई धमाधम लाभांश वितरण गरिरहेका छन्।

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष रामेन्द्र रायमाझी पनि ब्रोकरहरुसँग सहमत छन्। सरकारले ल्याएको ‘पोजेटिभ’ नीतिको प्रभाव देखिन समय लाग्ने उनको बुझाइ छ।

‘सबै कुरा बजारले चाहे अनुसार पोजेटिभ छ। सरकारबाट पनि नीतिगत हिसाबले लगानीकर्ताले चाहेभन्दा धेरै नै आएको हो। यस्ता पोजेटिभ कुरा बजारमा रिफ्लेक्ट हुन समय लाग्छ,’ उनले बिजमाण्डूसँग भने, ‘यो सँगै अर्थतन्त्रका अरु कुरा राम्रो हुँदै गएपछि बजार माथि जान्छ। योभन्दा तल जाने ठाउँ छैन।’