बेलायतमा अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड सैन्य अड्डानजिक आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा ५ जना पक्राउ परेका छन्। तीन वटा संदिग्ध गाडी सैन्य अड्डातर्फ गइरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
स्थानीय समयअनुसार आइतबार बिहान करिब १२:४५ बजे सूचना पाएपछि प्रहरीले ग्लुसेस्टरशायरस्थित वेलफोर्ड क्षेत्रमा कारबाही थालेको थियो। प्रहरीले पक्राउ परेका पाँच जनामाथि विस्फोटकसम्बन्धी कानुन उल्लंघन र आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।
घटनापछि आसपासका करिब ८५ घर खाली गराइएको थियो। सेनाको विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले संदिग्ध गाडीको जाँच गरेपछि प्रहरीले घटनास्थल वरिपरि करिब ४०० मिटर क्षेत्र घेराबन्दी गरेको थियो।
वेलफोर्डका बासिन्दालाई तत्काल घर फर्किन दिइएको छैन। स्थानीय प्रशासनले घर फर्कन नसक्ने प्रभावित परिवारका लागि वैकल्पिक रात्री आवासको व्यवस्था गर्ने जनाएको छ।
आरएएफ फेयरफोर्ड अमेरिकी सेनाले प्रयोग गर्ने बेलायतको महत्त्वपूर्ण सैन्य अड्डामध्येको एक हो। पछिल्लो समय उक्त अड्डा इरानमाथि अमेरिकी सैन्य कारबाहीका लागि प्रयोग भएको बताइएको छ।
बेलायती एन्टी-टेरोरिज्म प्रहरीले अनुसन्धान प्रारम्भिक चरणमै रहेको जनाएको छ। अधिकारीहरूले घटनालाई नियन्त्रणमा लिइएको बताउँदै थप व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
अमेरिकी सेनाले आफ्ना कर्मचारी सतर्क अवस्थामा रहेको जनाएको छ। यसैबीच, बेलायतको अर्को अमेरिकी सैन्य अड्डा आरएएफ लेकेनहिथमा सुरक्षा सतर्कताको स्तरसमेत बढाइएको छ।