BIZMANDU
www.bizmandu.com

कालीगण्डकी करिडोरका विभिन्न सडक खण्ड अवरुद्ध, पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा

२०८३ असोज ११

कालीगण्डकी करिडोरका विभिन्न सडक खण्ड अवरुद्ध, पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा
कालीगण्डकी करिडोरका विभिन्न सडक खण्ड अवरुद्ध, पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा


काठमाडौं। तीन दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गतका विभिन्न सडक खण्डमा पहिरो, डुबान तथा बाढीले क्षति पुर्‍याएको छ। 

Vigo
GBIME
Tata

सडक अवरुद्ध भएपछि सम्बन्धित सडक डिभिजन कार्यालयले आवश्यक उपकरण परिचालन गरी सडक खुलाउने प्रयास जारी राखेको छ।

करिडोरको गैंडाकोट-राम्दी-रिडी-मालढुंगा तथा सम्बन्धित सडक खण्डको पछिल्लो अवस्थाबारे सडक विभागले जानकारी सार्वजनिक गरेको हो।

गैं‌डाकोट-पिपलडाँडा सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर लामो दूरीको यातायात सञ्चालन प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपुर र पाल्पाले यातायात सञ्चालनमा रोक लगाएका छन्। सडक डिभिजन भरतपुर र पाल्पाले आवश्यक उपकरण तयारी अवस्थामा राखेका छन्। मौसम सहज भएपछि पहिरो हटाउने काम सुरु गरिने विभागले जनाएको छ।

निर्माणाधीन राम्दी-रानीमहल सडक खण्डमा ४ देखि ५ स्थानमा ठूला पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्बन्धित प्रशासन तथा प्रहरी कार्यालयलाई यसबारे जानकारी गराइएको छ। निर्माण व्यवसायीका हेभी उपकरण प्रयोग गरी मौसममा सुधार आएपछि पहिरो हटाउने तयारी गरिएको छ। हाल वैकल्पिक सडक प्रयोग गर्न सकिने अवस्था रहेको जनाइएको छ।

रानीमहल-अर्बेनी-रिडी सडक खण्डमा पनि विभिन्न स्थानमा साना पहिरो खसेका छन्। सडक डिभिजन पाल्पाबाट आवश्यक व्यवस्थापन गरी पहिरो हटाउने काम भइरहेको छ।

त्यस्तै, रिडी-रुद्रबेनी-हर्मीचौर सडक खण्डमा रिडी बजार आसपास सडकको केही भाग डुबानमा परेको छ। रिडी-रुद्रबेनी खण्डमा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। रुद्रबेनी-हर्मीचौर खण्ड खुलाउने प्रयास भइरहेको छ। निर्माण व्यवसायीका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ। खोलामा पुल निर्माण नभएका स्थानमा बाढीको बहाव नघटेसम्म यातायात सञ्चालन जोखिमपूर्ण रहेको विभागले जनाएको छ।

हर्मीचौर-बलेवा सडक खण्डअन्तर्गत राक्से, माझुवगर र पुर्तिघाटलगायतका स्थानमा भीषण पहिरोका कारण सडक प्रभावित भएको छ। सडक डिभिजन पाल्पा र सडक डिभिजन बागलुङबाट हेभी उपकरण तयारी अवस्थामा राखिएको छ। मौसम सहज हुनासाथ पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

बलेवा-मालढुंगा सडक खण्डमा डब्ल्याङ र कालाखोला लगायत करिब ६ स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। कालीगण्डकीको बाढीले निर्माण व्यवसायीको साइट क्याम्प तथा निर्माण उपकरणसमेत बगाएको जनाइएको छ। उपलब्ध उपकरण तयारी अवस्थामा राखिएको र मौसम सहज हुनासाथ पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास गरिने भएको छ।

बिहिम-सेतीबेनी सडकखण्डमा बिहिम र गुल्मी जोड्ने कालीगण्डकी पुल आसपासको सडकमा पनि समस्या आएको छ। बिहिम नजिक मोहन डाँडा र बिसौनामा भीषण पहिरो गएपछि सडक बन्द भएको छ। निर्माण व्यवसायीका उपकरण तयारी अवस्थामा राखेर मौसम सहज हुनासाथ पहिरो हटाउने काम सुरु गरिने जनाइएको छ।

त्यसै गरी फलेबास-अर्मादी सडक खण्डअन्तर्गत मोदीबेनी नजिक पहिरो तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण सडक प्रभावित भएको छ। आवश्यक उपकरण तयारी अवस्थामा राखिएको र मौसम सहज हुनासाथ पहिरो हटाएर सडक सञ्चालन गर्ने तयारी गरिएको छ।

लगातारको वर्षाका कारण कालीगण्डकी करिडोरका विभिन्न खण्डमा यातायात प्रभावित भइरहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।