काठमाडौं । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी संचालन रोक्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो।
‘सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो,’ अधिकारीले भने।
प्रशासनका अनुसार भैँसे हुँदै देउराली-सिस्नेरीतर्फ जाने तथा काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी-देउराली-हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा संचालन गर्न पाइने छैन। अत्यावश्यक रूपमा काठमाडौँ-हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ।
उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी संचालन गर्नुपर्ने प्रशासनले जनाएको छ।
प्रजिअ अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको बताए। जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ। रासस