काठमाडौं। बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गमा करिब ५५० स्थानमा अवरोध देखिएको छ।
सडक विभागका अनुसार विभिन्न राजमार्गका ३११ स्थानमा पहिरो र १८० स्थानमा डेब्रिज अर्थात गेग्रानका कारण सवारीसाधन संचालन गर्न अवरोध देखिएको हो। ४२ स्थानको सडक बाढीमा परेको छ।
काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गको मलेखु-मुग्लिन खण्डमा मात्र डेढ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ।
विभागले उपलब्ध गराएको तथ्यांक अनुसार बर्दिबास-सिन्धुली-खुर्कोट, हेटौंडा-काठमाडौं, गल्छी-त्रिशूली, बेलहिया-भैरहवा, बुटवल-पोखरा, तानसेन-रिडी-कोरला, बुर्तिबाङ-ढोरपाटन, दार्चुला-टिंकर, रामपुर-अरुणखोला, डुम्रेबेसी सडक पूर्णरुपमा बन्द भएका छन्।

रसुवा-पासाङल्हामु, ओखलढुङ्गा-सिद्धिचरण लोकमार्ग, बागलुङको मध्यपहाडी लोकमार्ग, घोराही-थवाङ-रुकुम सहिदमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, गुल्मी राजमार्ग, म्याग्दी-बेनी-जोमसोम सडक, तुलसीपुर-घोराही सडक, हुम्ला कर्णाली करिडोर, नवलपरासीपूर्व कालीगण्डकी करिडोर, दार्चुला-महाकाली राजमार्ग र त्रिभुवन राजपथ पनि पूर्णरुपमा अवरोध भएका छन्।

सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्काले बाढी पहिरोले अवरुद्ध भएका सडक खुलाउन काम थालिसकेको बताए। उनका अनुसार वर्षा रोकिएका ठाउँमा पहिरो पन्छाउन हेभी इक्विपमेन्ट परिचालन गरिएको छ।
विभागले देशभरका सडकमा पहिरो पन्छाउनका लागि २७७ वटा हेभी इक्विपमेन्ट मेसिन परिचालन गरिएको जनाएको छ।
‘विभाग मातहत २७७ वटा हेभी इक्विपमेन्ट मेसिन विभिन्न स्थानमा पठाइएको छ। बेत्रावतीतिर पनि काम भइरहेको छ,’ खड्काले भने, ‘लाइफलाइन मानिने राजमार्ग खुलाउन बढ्ता प्राथमिकता दिएका छौं। हेभी इक्विपमेन्ट र म्यानपावरलाई त्यतै केन्द्रित गरिएको छ। विभिन्न सडक आयोजनामा काम गरिरहेका निर्माण कम्पनीका मेसिन पनि स्ट्यान्डबाइ राखिएको छ।’

विभागले वर्षा रोकिएका ठाउँमा कार्यालय प्रमुख, आयोजना प्रमुख र सब इन्जिनियरलाई फिल्डमा खटाएको छ। ‘ठाउँठाउमा पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोको अवस्था हेरेर पन्छाउन लाग्ने समय यकिन हुन्छ। कुनै स्थानमा आधा घन्टामा पनि सकिने छ भने कतिपय स्थानमा दिन लाग्न सक्छ,’ खड्काले भने।
खड्काका अनुसार वर्षा नरोकिएको स्थानमा भने काम गर्न गाह्रो भइरहेको छ।
डेढ दर्जन स्थानमा गएको पहिरोका कारण बन्द भएको काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग खुलाउन काम सुरु गरिएको छ। नागढुंगा-मुग्लिन सडक विस्तार योजनाका इन्जिनियर राजीव मानन्धरले राजमार्ग बेलुकासम्म खुलाउने गरी अवरोध हटाउन सुरु गरिसकेको बताए
‘पानी रोकिएको अवस्था छ। आज दिनभरिमा सडक खुलाउने गरी काम थालिएको छ। यो राजमार्गमा अहिले २० वटा हेभी मेसिन परिचालन गरिएको छ।’

मानन्धरका अनुसार चालिसेमा ३ वटा मेसिन परिचालन गरेर ढुंगा फुटाउन काम भइरहेको छ। माथिबाट ठूलो ढुंगा आएका कारण यसलाई पन्छाउन ४ घन्टासम्म समय लाग्ने अनुमान छ।
उनका अनुसार परेवाभीरको सडक डेढ घन्टासम्म खुल्नेछ। ‘मलेखुदेखि मुग्लिन खण्ड खुलाउन भने केही समय लाग्छ। त्यो खण्डका धेरै ठाउँमा पहिरो गएको छ। तैपनि आज बेलुकासम्म सडक खलाउने गरी काम भइरहेको छ,’ उनले भने।