काठमाडौं। अविरल वर्षासँगै आएको बाढी पहिरोले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
एक महिनाअघि भोटेकोशी नदीमा आएको बाढीले ४१३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइन बाहिर गएकामा अहिले २३ वटा आयोजनामा विद्युत उत्पादन बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढी पहिरोका कारण करिब ८५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, मोदीलगायत जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको हो।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको दाना-कुश्मा खण्डमा क्षति पुग्दा १२ वटा आयोजनाको उत्पादन बन्द भएको छ।
३८ मेगावाटको निलगिरि-१, ७१ मेगावाटको निलगिरि-२, ४२ मेगावाटको मिस्त्री खोला, १४.८ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला, ६ मेगावाटको लेले खोला, ५ मेगावाटको घलेम्दी, ४८.५ मेगावाटको अपर राहुघाट, ३५.५ मेगावाटको राहुघाट मङ्गले, २२.५ मेगावाट माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला र ४० मेगावाटको राहुघाटको उत्पादन बन्द भएको हो।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ। जसले गर्दा करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङमा विद्युत सेवा बन्द भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरेको बताए।
उनका अनुसार आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अन्य उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् उपलब्ध गराउने व्यवस्था मिलाइने छ। त्यसका लागि प्राधिकरणले स्रोत साधन परिचालन गरिसकेको छ।
कतिपय ठाउँमा प्राविधिक टोली परिचालनका लागि सडक समस्पर्क टुटेका कारण समस्या भएको छ। ‘बाढीपहिरोले अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ,’ श्रेष्ठले भने, ‘सडक तथा पहुँच मार्ग खुल्ने बित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाउँछौं।’
प्राधिकरणले विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोल नजिक नजान आग्रह गरेको छ।