काठमाडौं। कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन्।
बैंकका महिला कर्मचारीहरूले काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितहरूलाई उक्त सामग्रीहरू सहयोग गरेका हुन्। बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले प्रभावितहरूलाई उक्त सामग्री हस्तान्तरण गरेकी छन्।
बैंकका अनुसार प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सरसफाई सामग्री संकलन गरी सहयोग प्रदान गरिएको हो।
विपद्को अवस्थामा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता समेत महत्त्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
यसअघि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले २५ लाख रुपैयाँ सहयोग गरेको थियो। बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएको छ।