काठमाडौं। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढीले २५ वटा घर बगाएको छ। आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेर घरहरु बगाएको प्रहरीले जनाएको छ।
उक्त बस्तीमा करिब ८० वटा घर थिए। नदीको बहाव बढिरहेकाले अन्य घरसमेत जोखिममा परेका छन्। प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोका कारण प्रहरीको थप टोली घटनास्थलमा पुग्न सकेको छैन। फर्से गाउँ पर्वतको मिलनचोकस्थित प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
पोखरेबगर पुल बगायो
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि अन्नपूर्णका २, ३, ४ नम्बर वडाका साथै मुस्ताङसँगको सडक सम्पर्क विच्छेद भएको छ।
यसैगरी, अन्नपूर्ण-५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ। पुरिएका घरका दुई जनाको खोजी जारी छ। बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ। अन्नपूर्ण-४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ।
तिनाउले ६ घर बगायो
तिनाउको बाढीले बुटवल-११ टपमझुवा क्षेत्रका ६ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो।
घरसँगै त्यहाँका सरसामान पनि बगेका छन्। मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। वर्षा नथामिएकाले उद्धारमा कठिनाइ भइरहेको छ।