नवलपरासी। नवलपरासीको सुस्ता-५ सुस्तामा नारायणी नदीको बाढी पसेको छ। बाढी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ। नारायणीको बाढीले सुस्ताका अधिकांश घर डुबानमा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताएका छन्।
शुक्रबार दिउँसोदेखि लगातार भइरहेको वर्षाले सुस्ता जलमग्न छ। यहाँका १०० भन्दा बढी घर डुबानमा परेका उनले बताए। उनका अनुसार यहाँ २२० परिवार बसोबास गर्दै आएका छन्। सुस्ताका थारू टोलमा सबैभन्दा पहिला बाढी पसेको छ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको बताएका छन्। नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता-५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको जानकारी उनले दिए।
डुबानमा परेकाको उद्धारका लागि यसका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालित छन्। अहिलेसम्म २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख एसपी गोविन्दबहादुर खातीले जानकारी दिए।
बाढी पसेपछि पक्कीबाहेक कच्ची घर (खरपात तथा माटोले बनेका) मा क्षति बढी भएको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताए। नारायणी नदीमा यो वर्षकै सबैभन्दा ठूलो पानी आएको मापन गरिएको छ।
गण्डक ब्यारेज वाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ। रासस