सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा हिमपातका कारण रोकिएका सात विदेशी पर्यटकको उद्धार गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। लगातारको वर्षापछि उच्च क्षेत्रमा हिमपात सुरु भएको हो। प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको प्रशासनले जनाएको छ।
आइल्यान्ड पिक क्षेत्रमा रोकिएका सात पर्यटकलाई स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा ल्याइएको हो। प्रशासनका अनुसार उनीहरू चिनियाँ मूलका भए पनि युरोपेली नागरिक रहेको जानकारी प्राप्त भएको छ।
‘माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ। कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ,’ प्रजिअ थापामगरले भने, ‘पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ।’
हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनले जनाएको छ। उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी र अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनको भनाइ छ।
खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ। थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको गाउँपालिकाले जनाएको छ।
प्रशासनले उच्च क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेको छ। हिमपात बढ्दै गए आवश्यक उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीलाई तयारी अवस्थामा राखिएको प्रजिअ थापामगरले बताए।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने आइल्यान्ड पिक समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको प्रमुख पर्वतारोहण गन्तव्य हो। प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा गाउँपालिकाका सूचना पालना गर्न आग्रह गरेको छ। रासस