काठमाडौं। नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आआफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई सम्बन्धित देशको भ्रमणका क्रममा भिसा आवश्यकताबाट छुट दिने व्यवस्था गरिएको छ। सम्झौताले नेपाल र कजाकिस्तानबीच आवागमन सहज बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्न योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
कजाकिस्तान मध्य एसियाको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र हो। रुस, चीन, किर्गिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसँग सीमा जोडिएको कजाकिस्तान क्षेत्रफलका हिसाबले विश्वको नवौँ ठूलो देश हो। तेल, प्राकृतिक ग्यास, युरेनियम तथा अन्य खनिज स्रोतमा धनी कजाकिस्तान मध्य एसियाको प्रमुख अर्थतन्त्र मानिन्छ। राजधानी अस्ताना हो।
नेपालका लागि कजाकिस्तानसँगको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा तथा रोजगारीका दृष्टिले चासोको विषय हो। कजाकिस्तान हुँदै मध्य एसियाका अन्य मुलुकमा जाने सम्भावना पनि नेपालीका लागि महत्त्वपूर्ण हुन सक्छ। भिसा सहजीकरणले सरकारी तहको आवतजावतसँगै दुई देशबीच पर्यटन, व्यापार, लगानी र शैक्षिक सम्पर्क विस्तारमा सहजता ल्याउने अपेक्षा गर्न सकिन्छ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि परराष्ट्रमन्त्री खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। दुवैले आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल-कजाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा मैत्रीपूर्ण तथा सहकार्यको छलफल गरेका थिए।