BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्री साहको हस्तक्षेपपछि नाटकीय ढंगले घट्यो चामल र चिनीको भाउ, कसरी भयो सम्भव?

२०८३ असोज १०

उद्योगमन्त्री साहको हस्तक्षेपपछि नाटकीय ढंगले घट्यो चामल र चिनीको भाउ, कसरी भयो सम्भव?
उद्योगमन्त्री साहको हस्तक्षेपपछि नाटकीय ढंगले घट्यो चामल र चिनीको भाउ, कसरी भयो सम्भव?


काठमाडौं। बजारमा चामल र चिनीको मूल्य अस्वाभाविक रूपमा बढिरहेका बेला सरकारले बजारमै हस्तक्षेप गरेपछि दुवै खाद्यान्नको भाउ घट्न थालेको छ। चिनीमा ११० रुपैयाँ किलोमा साल्ट ट्रेडिङ र खाद्य कम्पनीका बिक्री कक्षबाट बेच्न सुरु भएपछि व्यापारीले मूल्य घटाएर बेच्न थालेका छन्।

Vigo
GBIME
Tata

चामलको मूल्य भदौ १० को विनाशकारी बाढी अघिदेखि नै बढिरहेको थियो। उद्योगी तथा ठूला व्यवसायी मूल्य घटाउनै नसकिने जिकिर गरिरहेका थिए। तर, उनीहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भेटेपछि बजारमा नाटकीय रूपमा चामलको भाउ बोरामै १०० रुपैयाँ हाराहारी घटेको छ।

केही समयअघिसम्म बजारमा चिनीको भाउमा मनपरी थियो, प्रतिकिलो १४०/१५० रुपैयाँसम्म पुर्‍याइएको थियो। सरकारले किलोको ११० रुपैयाँ तोकेर साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री कक्ष र डिपार्टमेन्टल स्टोरमार्फत सोही मूल्यमा बिक्री सुरु गरेपछि निजी बजारमा समेत चिनीको भाउ एकाएक घट्न थालेको हो। अहिले बजारमा चिनी प्रतिकिलो १२० रुपैयाँसम्ममा झरेको व्यवसायीले बताएका छन्। सरकारी बिक्री कक्षमा उपभोक्ताले सस्तोमा चिनी पाउन थालेपछि निजी क्षेत्रलाई मूल्य प्रतिस्पर्धात्मक बनाउन दबाब परेको हो।

चामलमा पनि पछिल्लो साता यस्तै अवस्था देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहले गत साता राइस मिल तथा चामलका ठूला व्यवसायीसँग छलफल गरी मूल्य घटाउन आग्रह गरेका थिए। त्यसअघि उद्योगीहरूले लागत बढेकाले चामलको मूल्य तत्काल घटाउन सकिने अवस्था नरहेको बताउँदै आएका थिए। मन्त्रीसँगको छलफलपछि बजारमा चामलको मूल्य बोरामै १०० रुपैयाँभन्दा बढी घटेको व्यवसायीले नै बताएका छन्।

चामलको मूल्य बढ्नुको कारणबारे उद्योगीहरूले भने भारतमा धानको मूल्य वृद्धि, पेट्रोलियम पदार्थको महँगी र पछिल्लो समय सडक अवरोधका कारण बढेको ढुवानी खर्चलाई मुख्य कारण बताउँदै आएका थिए। राधाकृष्ण राइस मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालले भने, ‘उद्योगमा धानको स्टक पर्याप्त भए पनि भारतबाट खरिद महँगो परेको थियो, लागतका कारण चामलको मूल्य बढेको हो।’

रसुवा–भोटेकोशी बाढीपछि कृष्णभीरमा सडक अवरुद्ध भएको थियो। लामो दूरीको वैकल्पिक सडकबाट खाद्यान्न ढुवानी गर्नुपर्दा चामलको बोरामै ५० देखि १०० रुपैयाँसम्म लागत थपिएको उद्योगीको दाबी थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले समेत ढुवानी लागत बढाएको उनीहरूको भनाइ थियो।

तर, बजारमा खाद्यान्नको मौज्दात पर्याप्त हुँदाहुँदै मूल्य बढाइएको भन्दै थोक व्यवसायीले उद्योगीको तर्कमाथि प्रश्न उठाउँदै आएका थिए। खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार पुरानो स्टक मौज्दात रहेको अवस्थामा ढुवानी खर्च बढेको भन्दै मूल्य बढाउनु उचित हुँदैन। ‘पुरानो स्टक सकिएर नयाँ सामान ल्याउँदा मात्र ढुवानी खर्चका कारण मूल्य बढ्न सक्छ। पुरानो स्टक भएको व्यापारीले मूल्य बढाउनु पर्ने देखिँदैन,’ उनले भने।

उनका अनुसार अहिले बजारमा चामलको मूल्य घट्न थालेको छ र बोरामै ५० देखि १०० रुपैयाँसम्म सस्तो भएको छ। नयाँ धान बजारमा आउने समय नजिकिँदै गएकाले उद्योगीले पुरानो स्टक छिटो बिक्री गर्नुपर्ने दबाबसमेत बढ्ने अवस्था छ।

बालाजुस्थित सिजन एग्रो प्याकेजिङका संचालक ईश्वर श्रेष्ठ भन्छन् ‘धानको खरिदमै भाउ महँगिएर आएको भए चामलको भाउ घटाउन सकिँदैन। छिटो बेच्नुपर्ने दबाबले मूल्यमा थोरै तलमाथि पर्नुलाई खासै घटबढ भन्न सकिँदैन।’ बाढीअघि चामलको भाउ बढ्नुमा धानको खरिद नै महँगो परेको उनको भनाइ छ। दालको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमै बढेपछि नेपालमा घट्न नसकेको उनले बताए।