नारायणगढ (चितवन)। पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा लगातारको वर्षाका कारण जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।
अहिले धान दाना लाग्ने अवस्थामा छ। परागसेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्ने कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताएका छन्। ‘लगातारको वर्षाका कारण पानीले फूल झार्ने हुन्छ। पछि फोकटा दाना हुन्छ र यो बेलाको झरीका कारण दानामा दाग लाग्ने रोग पनि निम्त्याउँछ,’ उनले भने।
जिल्लाका विभिन्न पालिकामा धानमा समस्या देखिन थालेको उनले बताए। ‘बढी समस्या भएका स्थानमा हामीले शिविर सञ्चालन गर्न थालेका छौँ। भरतपुर-१४ पकौडीमा बाली उपचार शिविर आयोजना गरिएको छ भने अब रत्ननगरमा पनि गर्ने तयारी छ,’ उनले भने।
कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले धानमा देखिएको समस्या लिएर आउने किसानको सङ्ख्या बढेको बताइन। धानमा देखिएको समस्या लिएर कार्यालयमा आउने किसानको सङ्ख्या बढेपछि बाली उपचार शिविर सञ्चालन गर्न थालिएको हो। उनका अनुसार जिल्लामा अहिले धानमा एउटा मात्रै रोग नभई विभिन्न रोग तथा किराको समस्या देखिएको छ।
खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद डढुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डढुवा लगायतका समस्या देखिएको उनले बताइन। यद्यपि, हालसम्मको स्थलगत अवलोकन र किसानबाट प्राप्त समस्याको अवस्थालाई हेर्दा रोग नियन्त्रणबाहिर भने नगएको उनको भनाइ छ।
‘पश्चिम चितवनमा हेर्दा हामीले उपचार गर्दा र किसानलाई सजग बनाउँदा रोग नियन्त्रणबाहिर गएको छैन,’ उनले भनिन्। विशेषगरी साँवा मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ। हर्दिनाथ–६ मा पनि केही क्षेत्रमा समस्या देखिन थालेको उनले जानकारी दिइन।
धानमा समस्या देखिनुमा मौसमसँगै खाद्यतत्वको कमी पनि कारण रहेको उनले बताइन। ‘किसानले डीएपी र युरिया मात्रै बढी दिनुभयो, तर धानमा पोटास र जिङ्कको कमी पनि देखिएको छ,’ उनले भनिन्। लगातार पानी पर्ने र फेरि तापक्रम उच्च हुने अवस्थाले पनि धानमा समस्या आउने गरेको उनले बताइन। रासस