BIZMANDU
www.bizmandu.com

देशभरको सडक सञ्जालमा ठूलो क्षति, अविरल वर्षाले २० सडक पूर्ण रूपमा अवरुद्ध

२०८३ असोज ९

देशभरको सडक सञ्जालमा ठूलो क्षति, अविरल वर्षाले २० सडक पूर्ण रूपमा अवरुद्ध
पहिरोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध हेटौँडा, ९ असोज : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया र हेटौँडा–१९ नेवारपानीको सिमानामा गएको पहिरो । पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । तस्बिर: गणेशदर्पण अधिकारी/रासस


काठमाडौं। बिहीबारदेखिको निरन्तरको वर्षाका कारण देशभरका २० सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन्। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विभिन्न राजमार्गका २० सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। दुई वटा सडक एकतर्फी रूपमा सञ्चालित छन्।

Vigo
GBIME
Tata

गृह मन्त्रालयको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाको शुक्रबार राति ८ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा सडकहरू अवरुद्ध भएका छन्। बागमतीमा १२ वटा राजमार्ग अवरुद्ध छन्।

बागमतीमा यसअघि भदौ १० गतेको बाढीका कारण अवरुद्ध भएको त्रिशूली–मैलुङ–रसुवागढी, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बीपी राजमार्ग, कुलेखानी सिस्नेरी सडक, मन्थली खुर्कोट सडक पूर्णरुपमा अवरुद्ध छन्।

यस्तै कोशीमा चार सडक अवरुद्ध छन्। शाखाका अनुसार कोशीका मेची कोरिडोर, मध्यपहाडी लोकमार्ग, चतरा–वराहक्षेत्र र सिद्धिचरण लोकमार्ग पूर्णरुपमा अवरुद्ध छन्। 

गण्डकीमा दुई राजमार्ग पूर्ण अवरुद्ध र दुई एकतर्फी रूपमा सञ्चालित छन्। चामे–बेसीशहर खण्ड र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध छन्। कालिगण्डकी कोरिडोर र पूर्वपश्चिम राजमार्ग लुम्बिनी प्रदेशमा एकतर्फी सञ्चालनमा छन्।

लुम्बिनीमा दुई सडक पूर्ण अवरुद्ध भएका छन्। लुम्बिनी खण्डमा पर्ने कालिगण्डकी कोरिडोर र घोराही–थवाङ शहीदमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।