काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा अवलोकन गरेका छन्। उनले शुक्रबार अपराह्न
हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका हुन्। राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट हिंडेर गद्दी बैठक पुगेका थिए।

राष्ट्रपति पौडेलका अलावा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यबाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री लगायत पनि हिंडेरै गद्दी बैठक गएका थिए।
कानुनमन्त्री सोविता गौतम, भूमि व्यवस्था तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिलामन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता र कृषिमन्त्री गीता चौधरी इन्द्रजात्रामा नेवारी पहिरन हाकुपटासी लगाएर पुगेका थिए। प्रतिभाले सबै महिला मन्त्रीलाई हाकुपटासी उपहार दिएकी थिइन्।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको शुक्रबार मुख्य दिन हो।