काठमाडौं। लुम्बिनी प्रदेशका केही स्थानामा भारी वर्षाको प्रक्षेपण भएपछि दिउँसै सवारी रोक्ने निर्णय भएको छ। मौसम विज्ञान विभागको भारी वर्षाको प्रक्षेपणसँगै जोखिम हेरेर सवारी साधन रोक्न लागिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केही समयअघि बसेको बैठकले यो निर्णय गरेको हो। प्राधिकरणका एक कर्मचारीका अनुसार केही समयभित्रै निर्देशनसहित सूचना समेत जारी हुनेछ।
मौसम विभागका अनुसार वर्षाको जोखिम पूर्वबाट लुम्बिनी, सुदूरपश्चिम र कर्णालीतिर सर्दै गएकाले यस क्षेत्रमा जोखिम बढी देखिएको हो।
‘हामीले केही जिल्लाहरूमा जोखिमका आधारमा दिउँसो पनि सडक बन्द गर्नुपर्ने देखेर निर्णय गरेका हौं,’ बैठकमा ती कर्मचारीले भने।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी लगायत जिल्लामा अति जोखिम भएकाले सवारी नचलाउन भनिएको छ। प्राधिकरणले निर्णय गरेर पत्र जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले नै यसको निर्णय गर्ने गर्छन्। विभागका अनुसार वर्षाको कारण तीन दर्जन जिल्लाहरू अति जोखिममा छन्।
जिल्ला प्रशासन र स्थानीयतले आवश्यकताअनुसार कुन सडक दिउँसो बन्द गर्ने निर्णय गर्ने छ। त्यस्तै, विद्यालयहरू पनि बन्द गर्न बिहीबार नै पत्राचार गरिएको छ। यस क्षेत्रमा सुरक्षा पनि निगरानी बढाइएको छ।
अहिले वर्षाको कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखेर २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। लगातारको वर्षाको कारण अहिले धेरै राजमार्गहरू अवरोध भएका छन्।
काठमाडौं उपत्यका जोड्ने मुख्य राजमार्गहरू नै पूर्णरुपमा बन्द छ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत ७ स्थानमा अवरुद्ध भएको छ। त्यस्तै, वीपी राजमार्ग पनि अवरुद्ध छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा इन्धन र ग्यास बोकेका बाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारी साधन चल्न रोक लगाएको छ।
केही राजमार्गहरूमा रातिको समयमा रात्रा रोक लगाइएको छ।
कुन सडकको अवस्था कस्तो?
नुवाकोटको टोखा-छहरे सडकखण्ड आवतजावत बन्द गरिएको छ।
भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि आवतजावत बन्द गरिएको हो।
अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न बन्द गरिएको नेपाल प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।
रसुवाको पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको थियो।
त्यस्तै, त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङल्हामु राजमार्ग बाढीले क्षति पुर्याएपछि पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं-टोखा-छहरे-विदुर-नुवाकोट दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पार्च्याङ-भोर्ले शून्य किमि-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाइएको छ।
‘सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत जिल्लाका भित्री सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेक सवारीसाधन तथा पैदलयात्रुको आवागमनमा रोक लगाइएको छ,’ प्रहरीद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट, भालुवाङ-चकचके सडकखण्डको भालुवाङ-गनाहा खोला, सहिद मार्गअन्तर्गत घोराही-होलेरी, घोराही-मुर्कुटी तथा तुलसीपुर-सुर्खेत सडकखण्डको तुलसीपुर-कालीमाटी क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ।’
यसैगरी रोल्पामा भारी वर्षाको सम्भावनाका कारण मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका-७ माडीचौर क्षेत्रमा असोज ८ गतेदेखि १२ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार धादिङमा बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीर, वडा नम्बर १० टिङराङखानी तथा गजुरी गाउँपालिका-२ परेवाभीरमा अविरल वर्षाका कारण ठूलो ढुङ्गासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
भोजपुरमा साँझ ६ बजेदेखि भित्रि तथा सहायक सडकमा सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मध्यपहाडी लोकमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारी, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीलाई नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी, मनाङमा बेँसीसहर हुँदै खाङसार तथा लमजुङको सीमादेखि खाङसारसम्म राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मनाङको नासों गाउँपालिका-३ खोत्रोमा अविरल वर्षाका कारण सडक माथिबाट ढुङ्गासहित पहिरो खसेपछि चामे-बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा समेत जोखिमका कारण आवागमनमा समय निर्धारण गरिएको छ। चितवनमा नारायणगढ-मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खसिरहेका कारण सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।
‘धादिङमा पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ,’ प्रहरीद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘मकवानपुरमा कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै आवागमनको व्यवस्था गरिएको छ।’
भैँसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडकमा समेत तोकिएको समयभित्र मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।
प्रहरीका अनुसार सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्णरूपमा रोक लगाइएको छ।
दोलखामा असोज ८ देखि १० गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यसैगरी, काभ्रेमा बिपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ।
काभ्रेको रोशी गाउँपालिका-७ चारसयबेँसी र रोशी-८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा आवागमन रोक लगाइएको जनाइएको छ।
त्यसैगरी, ओखलढुङ्गामा मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सीमामा पर्ने भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकमा क्षति पुर्याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।
सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायले मौसम पूर्वानुमानअनुसार सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवागमनमा रोक लगाएको जनाएका छन्।
नेपाल प्रहरीले सर्वसाधारणलाईअत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।