काठमाडौं। अविरल वर्षाका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख राजमार्ग बन्द हुँदा तरकारी ढुवानीमा समस्या भएको छ।
उपत्यका बाहिरका जिल्लाबाट भित्रिने तरकारी गएरातिदेखि बाटोमा रोकिएका छन्। कतिपय तरकारी किसानको बारीमै छन्।
आपूर्ति रोकिने बित्तिकै बजारमा भाउ बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। शुक्रबार बिहान कालीमाटी बजारमा करिब ७४ हजार ८६१ केजी तरकारी भित्रिएको छ।
बिहीबारसम्म बजारमा करिब ५ लाख केजीभन्दा बढी तरकारी भित्रिएको थियो। बिहीबार रातिदेखि पृथ्वी, कान्ति र वीपी राजमार्ग बन्द भएपछि शुक्रबार बजारमा कम तरकारी भित्रिएका छन्।
कालीमाटी थोक बजारमा ठूलो गोलभेँडा शुक्रबार प्रति केजी ९५ रुपैयाँ छ। भारतीय गोलभेँडा केजीमा १० रुपैयाँ बढेर प्रति केजी ९५ रुपैयाँ छ।
सानो र टनेलको गोलभेँडाको भाउ पनि केजीमा १० रुपैयाँको दरले बढेको छ। स्थानीय काउलीको भाउ पनि एकै दिन ३२ प्रतिशतले बढेर ९७ रुपैयाँबाट १२८ रुपैयाँ भएको छ।
भटमास कोसा ११५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ। हरियो खुर्सानीको मूल्य १२२ प्रतिशतले बढेर प्रति केजी २११ रुपैयाँ भएको छ।
कालीमाटी बजारमै धेरै तरकारीको भाउ बढेको छ। तरकारी फलफूल महासंघका अध्यक्ष भरत खतिवडाले लगातार वर्षाले बजारमा तरकारी आउन नसक्दा भाउ बढ्न थालेको बताए।
‘यही बेला उपत्यकाभित्र उत्पादन भएका फसल समेत टिपेर बजारमा पठाउन नसक्ने अवस्था छ। उपत्यका बाहिरका तरकारी राजमार्ग अवरुद्ध भएपछि बजारमा आउन सकेको छैन। यसले गर्दा भाउ हिजोको भन्दा बढेको हो,’ उनले भने।
बजारमा आपूर्ति कम हुँदा भाउ बढ्ने गरेको छ। बिहीबार बजारमा तरकारी भित्रिएकाले आज अभाव भइसकेको छैन।
‘तर, ३ दिनसम्म आपूर्ति हुन सकेन भने भाउ योभन्दा माथि जान्छ,’ अध्यक्ष खतिवडाले भने।
गत महिना कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग हुँदै मवकानपुर, धादिङ, काभ्रे र तराईका जिल्लाबाट तरकारी आइरहेको थियो। तर, यस पटक देशभर लगातार मनसुन सक्रिए भएपछि उत्पादन भएका तरकारी किसानले टिपेर पठाउन सकेका छैनन्।