BIZMANDU
www.bizmandu.com

पृथ्वी राजमार्गसहित काठमाडौंको लाइफलाइन बन्द : दसैंको व्यापार चौपट, सार्वजनिक यातायातमा धक्का

२०८३ असोज ९

पृथ्वी राजमार्गसहित काठमाडौंको लाइफलाइन बन्द : दसैंको व्यापार चौपट, सार्वजनिक यातायातमा धक्का
पृथ्वी राजमार्गसहित काठमाडौंको लाइफलाइन बन्द : दसैंको व्यापार चौपट, सार्वजनिक यातायातमा धक्का


काठमाडौं। मुग्लिन नारायणगढ सडक खण्डमा पाेखराकाे लागि मात्रै सवारी आवनगमन खुला गरिएको जानकारी गराईन्छ । काठमाडौं जाने सवारीसाधनहरू सडकको अवस्था हेरेर आवागमन खुला गरिने समेत जानकारी गराईन्छ ।

Vigo
GBIME
Tata

भारी वर्षासँगै काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा दसैंको बेलाको व्यापार चौपट हुने देखिएको छ। दसैंको तीन साताअघि आएको वर्षाले राजमार्ग बन्द हुँदा चिनियाँ लत्ताकपडा, जुत्ता लगायत सामान रोकिएका छन्।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य परशुराम दाहालले भोटेकोशी बाढी र अहिले लगातारको वर्षाले दसैंको व्यापार तहसनहस पारेको बताए।

‘यो पटक देशमा ठूलै विपत्तिले घेरेको रहेछ। भोटेकोशीले ठूलो मानवीय र भौतिक क्षति भयो। हामी त्यसपछि सम्हालिएर कोरला नाकाबाट सामान ल्याइरहेका थियौं। लगातारको पानीले राजमार्ग ध्वस्त भएपछि सामान नै अलपत्र भए,’ उनले भने, ‘केही व्यापारीले ल्याएका सामान पनि बिक्री गर्न पाएका छैनन्।’

उनका अनुसार कतिपय व्यवसायीले दसैं तिहारमा गर्ने व्यापारले वर्षभरिको खर्च धान्ने गर्थे। ‘धेरै चिनियाँ होलसेल व्यापार गर्नेले दसैं तिहारको व्यापारले वर्षभरि धान्ने गर्छन्। यो पटक व्यापार हुने सम्भावना कम देखिन्छ,’ दाहालले भने।

नेपा कम्प्लेक्समा जुत्ताको होलसेल गर्दै आएका चुडामणि पौडेल पनि दसैंको व्यापार बेमौसमी वर्षाले समाप्त पारेको बताउँछन्।

‘दसैंको व्यापार लगभग सकिने अवस्था आयो। राजमार्गमा पहिरो नै पहिरो गएकोले कहिले खुल्छ भन्ने टुंगो छैन,’ पौडेलले बिजमाण्डूसँग भने, ‘भोटेकोशी बाढीले धेरै व्यवसायीको सामान बगायो। फेरि अर्डर गरेर कोरला नाका हुँदै काठमाडौं ल्याएको सामान बेच्न नपाउने अवस्था आयो।’

चिनियाँ सामान मात्रै होइन, इलेक्ट्रोनिक्स सामान, होम अप्लाइन्सेस, बाइकदेखि प्यासेन्जर भेहिकलसम्म धेरै बिक्री हुने समय पनि दसैं तिहार हो। व्यवसायीले दसैंमा धेरै व्यापार गर्न अफर पनि ल्याउने गर्छन्।

तर, योपटक वर्षाले राजमार्ग क्षतविक्षत भएकाले दसैंको व्यापारमा ठूलो असर पर्ने देखिएको छ। ‘पहिलो कुरा आपूर्ति गर्न नै नसक्ने अवस्था आयो। दोस्रो बाढी पहिरोले सताइरहेका बेला उपभोक्ता नयाँ सामान किन्ने भन्ने मानसिकतामा हुँदैनन्,’ एक इलेक्ट्रोनिक्स बिक्रेताले भने, ‘दसैंको इकोनोमीलाई धेरै ठूलो असर पार्ने देखिएको छ।’

दसैंका बेला लामो दूरीमा कर्मसियल भेहिकल थप्ने गरिन्थ्यो। झण्डै तीन सय वटा ठूला नयाँ गाडी किनेर दसैंमा चलाउने गरिन्थ्यो। तर, यो पटक सरकारले करिब ४ महिना सवारी दर्ता नै बन्द गर्‍यो।

एक साताअघि सवारी दर्ता खुले पनि नयाँ गाडी थपिने अवस्था नै भएन। अहिलेको भारी वर्षाले राजमार्ग ध्वस्त बनाएकाले सार्वजनिक यातायातको व्यापार गर्नेहरु पनि ठूलो संकटमा पर्ने देखिएका छन्। सवारी दर्ता रोक्दा सिप्रदी, मोरङ अटो वर्क्स, आइएमई अटोमोटिभ लगायत बिक्रेताको व्यापारमा ठूलो धक्का लागेको छ। उनीहरुको व्यापार घट्दा कर्पोरेट कर समेत प्रभावित बनेको छ। सवारी साधन आयात नहुँदा भन्सारलगायत राजस्व संकलनमा समेत असर परेको छ।

‘पेट्रोलियम पदार्थको चिन्ता लिनु पर्दैन’

नेपाल आयल निगमले पहिरोले पृथ्वी राजमार्ग एक/दुई दिन बन्द हुँदा ग्यासबाहेक पेट्रोलियम पदार्थ अभाव नहुने दाबी गरेको छ। निगमका अनुसार वर्षाको प्रक्षेपण एक साताभन्दा अघिदेखि नै आएकाले थानकोट डिपोमा १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात छ।

‘भारी वर्षा आउने प्रक्षेपण एक साताअघि नै आएकाले हामीले दिनरात नभनी तेल ल्याएका थियौं। थानकोट डिपोमा तेल भरेर राखेका छौं। पेट्रोल पम्पलाई पनि मागभन्दा बढी आपूर्ति गरेका छौं,’ निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बिजमाण्डूसँग भने, ‘पाइपलाइनका कारण पेट्रोलियम पदार्थको अभाव हुँदैन। पानी रोकिएपछि पहिरो हटाएर पनि ल्याउन सकिन्छ।’

अहिले काठमाडौं जोड्ने त्रिभुवन राजपथबाहेक अरु सबै राजमार्ग बन्द छन्।

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन भएकै कारण तेलको समस्या टरेको हो। त्यहाँ पाइपलाइनमार्फत आएको तेल ट्यांकरमार्फत काठमाडौं ल्याइन्छ। हवाई इन्धन पनि तीन साताभन्दा बढीलाई पुग्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्टक छ।

कार्यकारी निर्देशक साहले पाइपलाइन नभएकाले ग्यास आपूर्तिमा भने समस्या हुन सक्ने भएकाले आवश्यक रणनीति तयार पारिसकेको जानकारी दिए।

उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई टाढाको रुट छाडेर बरौनीबाट बढी ग्यास दिन आग्रह गरिएको छ।

‘पारादीपभन्दा नजिकको बरौनीबाट ग्यास दिन भनेका छौं। त्यहाँ ग्यास लोड गरेर राख्ने बाटो खुल्नेबित्तिकै धमाधम काठमाडौं ल्याउने रणनीति बनाएका छौं,’ उनले भने, ‘सडक विभागसँग छलफल हुँदा पानी पर्न रोकिएपछि पहिरो हटाउन सक्ने परिस्थिति रहेको जानकारी आएको छ।’

साहका अनुसार भारतबाट १०० बुलेट ग्यास भन्सार नजिक आइसकेको छ। ‘डेढ लाख सिलिण्डर नेपाल आइसकेको छ। बाटो खुल्नेबित्तिकै त्यो ग्यास ल्याइहाल्छौं,’ उनले भने, ‘उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन।’

निगमले काठमाडौंमा ग्यास ल्याएका बुलेटलाई सकेसम्म बाहिर पठाइहाल्न समेत पहल गरिरहेको छ। ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले काठमाडौं वरपर रहेका बुलेट बाहिर पठाउनका लागि पहल भइरहेको जानकारी दिए।

‘कृष्णभीर खुलेपछि ग्यासको अभाव हट्दै गएको थियो। हामीले आपूर्ति व्यवस्था पूर्ववत बनाउन प्रयास गरिरहेका थियौं। फेरि वर्षाले केही समस्या ल्याउने देखिएपछि हामीले त्यसलाई कसरी समाधान गर्ने भनेर छलफल गरिरहेका छौं,’ उनले भने, ‘आयल निगमले पनि समन्वय गरिरहेको छ। हामीले आपूर्ति श्रृंखलामा कुनै व्यवधान नहोस् भनेर पहल गरिरहेका छौं।’

उनका अनुसार एक/दुई दिन ब्रेक हुँदा ठूलो समस्या नहोस् भनेर निगम र उद्योगीबीच समन्वय भइरहेको छ।

‘पेट्रोलियम पदार्थजस्तो संवेदनशील वस्तुको आपूर्तिका लागि विपत्तिका बेला सबैको सहयोग चाहिन्छ। सरकार र उद्योगीसँगै उपभोक्ताले पनि प्यासन राखेर आवश्यकभन्दा बढी नउठाएमा यो समस्या ठूलो बन्दैन,’ भण्डारीले भने, ‘ग्यास आउँदैन भनेर जगेडा हुनेहरु पनि सिलिण्डर बोकेर नहिंड्ने हो भने दुई/तीन दिन नआउँदा अभाव भोग्नुपर्दैन।’

खाद्यान्न व्यवसायीका अनुसार अत्यावश्यक खाद्यान्नको स्टक पर्याप्त छ। कृष्णभीरको सडक भत्किँदा नै व्यवसायीले तीन महिनालाई धान्ने खाद्यान्न स्टक रहेको जानकारी दिएका थिए।

दसैं नजिकिएकाले लत्ताकपडा, जुत्ता लगायत सामान आपूर्तिमा भने समस्या भएको छ। दसैंको पूर्वसन्ध्यामा वर्षासँगै राजमार्ग बन्द हुँदा महाबौद्धको होलसेल व्यापार ठप्पजस्तै भएको छ।