काठमाडौं। बिहीबारदेखि परेको निरन्तर वर्षापछि देशभर बाढी र पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। मुख्य राजमार्गदेखि लोकमार्ग र ग्रामीण सडकसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएका छन्।
धादिङको कृष्णभीर, टिङराङखानी र परेवा भीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। माथिबाट ठूलो ढुंगासहितको पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन रोकिएको हो।
भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडकको माथिल्लो भागमा अस्थायी सडक तयार पारिएको कृष्णभीर क्षेत्रमा पुनः पहिरो गएको हो। सडक विभागले करिब १८ दिन लगाएर कटिङ गरी तयार पारेको अस्थायी मार्गमा समेत वर्षाले जोखिम बढाएको छ।
कृष्णभीरमा सडक निर्माणका क्रममा केही भागमा कडा चट्टान भए पनि केही भाग कमजोर माटोमा थियो। लगातारको बर्सातका कारण माथिबाट पहिरो खस्नुका साथै सडकको तल्लो भागमा नदीको कटानको जोखिमसमेत कायमै छ।
पृथ्वी राजमार्गसँगै नारायणगढ-मुग्लिन सडकखण्ड पनि अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि जोखिमलाई ध्यानमा राखेर आवागमन रोकिएको हो।
नारायणगढ-मुग्लिन सडकबाट दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्गबाट १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। सडक बन्द हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि बिपी राजमार्गसमेत अवरुद्ध भएको छ। चारसयबेँसी र गिम्दी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुसलधारे वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। हाल साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन संचालनमा रोक लगाइएको छ।
वर्षाको अवस्था हेरेर दिउँसोसमेत सवारी आवागमन रोक्न सकिने स्थानीय प्रशासनले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
कान्ति लोकपथमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। ललितपुरतर्फ सडकका विभिन्न ३ स्थानमा पहिरो खसेपछि हेटौँडाबाट संचालन हुने यातायात प्रभावित भएको हो।
नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ। वर्षाका कारण जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक पनि अवरुद्ध भएको छ।

उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा शुक्रबार बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँपालिका-४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन्।
रसुवामा त्रिशूली नदीको कटान र बाढीका कारण पासाङल्हामु राजमार्गको ठूलो भाग क्षतिग्रस्त भएको छ। त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने मुख्य सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसीसम्म पुग्न वैकल्पिक कच्ची सडक प्रयोग गर्नुपर्ने अवस्था छ।
सोलुखुम्बुमा पनि भारी वर्षाको पूर्वानुमानपछि सिद्धिचरण लोकमार्गसहित भित्री सडकमा रातिको आवागमन रोकिएको छ। साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रुको आवागमनमा रोक लगाइएको छ।
दाङका विभिन्न सडकखण्डमा पनि असोज ८ देखि ११ गतेसम्म रातिको समयमा यातायात बन्द गरिएको छ। तुलसीपुर-कपुरकोट, भालुवाङ-चकचके, घोराही-होलेरी, घोराही-मुर्कुटी र तुलसीपुर-कालीमाटी सडकखण्डमा यस्तो व्यवस्था गरिएको हो।
रोल्पाको मदन भण्डारी राजमार्गमा पनि भारी वर्षाको जोखिमका कारण सवारी आवागमन रोकिएको छ। माडीचौर क्षेत्रमा सडकमा आवागमन गर्दा उच्च जोखिम हुने मूल्याङ्कनपछि रोक लगाइएको हो।
भोजपुरमा साँझदेखि बिहानसम्म मध्यपहाडी लोकमार्गमा समेत आवागमन सीमित गरिएको छ। अत्यावश्यक सवारीसाधन भने नजिकको प्रहरी इकाइसँग समन्वय गरेर चलाउन सकिने व्यवस्था गरिएको छ।
मनाङमा बेसीसहर हुँदै खाङसार जाने सडकमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको छ। बाढी, पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षतिको जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।
लगातारको वर्षाका कारण सडकमा पहिरो र कटानको जोखिम अझै कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। मौसमको अवस्था हेरेर सडक खोल्ने वा बन्द राख्ने निर्णय गरिने भएकाले यात्रुलाई अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ।