BIZMANDU
www.bizmandu.com

प्रचण्डसँग एकता कसरत भइरहेका बेला एमालेमा विद्या भण्डारीको ‘इन्ट्री’, संकट टार्ने ओली दाउ

२०८३ असोज ८

प्रचण्डसँग एकता कसरत भइरहेका बेला एमालेमा विद्या भण्डारीको ‘इन्ट्री’, संकट टार्ने ओली दाउ
तस्बिर : रासस।


काठमाडौं। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच एकताका लागि कसरत भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा प्रवेश भएको छ।

Vigo
GBIME
Tata

बिहीबार बसेको सचिवालय बैठकले तयार पारेको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेर अनुमोदन गराएसँगै भण्डारी एमाले वरिष्ठ नेता भएकी हुन्।

१९ सदस्यीय पदाधिकारी रहेको एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नरहे पनि ओलीले आफ्नो संकट टार्न आफैंले राजनीतिमा आउन रोकेकी भण्डारीलाई पार्टीमा प्रवेश गराएका छन्।

भण्डारी ओलीपछिको बरियतामा अर्थात् ५ जना उपाध्यक्षको भन्दा माथि रहने छन्। एमाले सचिव पद्मा अर्यालका अनुसार भण्डारी वरिष्ठ नेता हुने प्रस्ताव सर्वसम्मत निर्णय भएको छ।

ओलीले एमाले पार्टी जीवनमा नयाँ ऊर्जा भर्न वरिष्ठ नेता बनाइएको बताएका छन्। ‘उहाँ आएपछि भोलि के-के हुन्छ भन्ने कुरा त त्यतिबेला नै थाहा होला। तर अहिले यसले पार्टी जीवनमा नयाँ ऊर्जा भर्छ भन्ने विश्वासका साथ निर्णय भएको छ,’ अर्यालले बिजमाण्डूलाई भनिन्।

एमाले नेताहरुका अनुसार ओलीले तत्कालका लागि आफूमाथिक संकट टारेका छन्। एमालेको निर्णयमा पनि पार्टी विवाद हल भएको दाबी गरिएको छ। 

‘बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौं, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्‍याउने प्रण गरेका छौं र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौं। बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्न पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौं,’ निर्णयमा उल्लेख छ, ‘यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थता यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ।’

विशेष महाधिवेशन बोलाएर ओलीलाई अध्यक्षबाट हटाउने पार्टी पुनर्गठन पक्षधरको रणनीति तत्कालका लागि कमजोर बनेको छ। ओली इतर समूहमा रहेका उपमहासचिव योगेश भट्टराईले तत्कालका लागि ओलीलाई हटाउन सम्भव नभए पनि यसपछिका बैठकहरुमा समेत निरन्तर छलफलको विषय बनाइने बताए।

‘अहिले सम्भव भएन। यसलाई हामीले निरन्तर छलफलको विषय बनाउँछौं,’ उनले भने।

अबको स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व तोकेर जानुपर्ने प्रस्ताव केन्द्रीय कमिटीमा भट्टराईले गरेका थिए। तर, उक्त प्रस्तावाई ओलीले ठाडै खारेज गरे।

पछिल्लो समय आफूमाथिको संकट भण्डारीसँग वार्ता गरेका ओलीले एक वर्षअघि भण्डारीले एमाले अध्यक्षमा दाबी गरेर राजनीतिमा सक्रिय हुन खोजेपछि २०८२ साउन ७ को केन्द्रीय कमिटीको बैठकबाट पार्टी सदस्यता नै खारेज गरेका थिए।

ओली-भण्डारीबीच दुवै पक्षका नेताहरुले पटकपटक वार्ता गराए पनि त्यतिबेला सहमति भएन। दुवै नेता एकअर्का विरुद्ध आक्रामक बने। भण्डारीले आफ्नो सदस्यता ओलीले खारेज गर्न नसक्ने र ओलीलाई आफूले नेता बनाएको भन्दै चुनौती दिने गरेकी थिइन्। 

२०८२ भदौ २३/२४ को जेनजी आन्दोलनपछि सत्ताच्यूत भएका ओलीले आफू अप्ठेरोमा परेसँगै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र भण्डारीसँग निरन्तर संवाद थालेका थिए।

त्यहि संवाद निष्कर्षमा पुगेपछि ओली-भण्डारी सहमतिमा पुगेका हुन्। ओलीसँगको सहमतिपछि २०७२ कात्तिक २१ गते पहिलो पटक र २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपति भएर राजनीतिबाट लिएको विश्रामलाई अन्त्य गर्दै फेरि भण्डारी एमालेको सक्रिय राजीतिमा फर्किएकी हुन्।

ओलीले भण्डारीलाई राजनीतिमा आफू शक्तिमा रहेका बेला भने ल्याएनन्। एघारौं महाधिवेशनमा आफ्नै समूहबाट पदाधिकारी बनेका अधिकांश नेता आफ्ना विरुद्ध उभिएपछि ओलीले २०८३ जेठ ४ को सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गरे। वरिष्ठ नेता दिने सहमति भएसँगै भण्डारी पनि ओलीसँग नरम थिइन्।

ओलीले पार्टीभित्रको संकट टार्न मुख्यरुपमा दुई वटा विकल्प अघि सारेका थिए। एकातिर उनले प्रचण्डसँग र अर्कोतिर भण्डारीसँग समानान्तर वार्ता गरेका थिए। एमाले नेताहरुका अनुसार एमाले र नेकपाका दोस्रो तहका नेताहरुबीच पटक/पटक पार्टी एकताका लागि अनौपचारिक छलफल हुने गरेको छ। नेकपाले पार्टी एकताका लागि वार्ता गर्न देव गुरुङको संयोजकत्वमा समिति नै बनाएको छ। 

एमालेभित्र ओली कतिसम्म संकटमा परेका थिए भने महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलेनै ओलीको राजीनामा मागेका थिए।

तर, केन्द्रीय कमिटीको मंगलवारको बैठकमा पोखरेल र पौडेल युटर्न भएपछि बैठकको माहोल नै बदलिएको थियो। ओलीले अहिले भण्डारीको मात्रै नभइ आफूसँग पराजित नेता ईश्वर पोखरेललाई पनि स्थायी कमिटीमा मनोनीत गरेका छन्। पोखरेल भण्डारी समूहबाट ११औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका थिए।