BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा उद्धारमा हेलिकोप्टरको खर्च १३ अर्ब भएको हो? यस्तो छ हिसाब

२०८३ असोज ८

भोटेकोशी बाढीमा उद्धारमा हेलिकोप्टरको खर्च १३ अर्ब भएको हो? यस्तो छ हिसाब
भोटेकोशी बाढीमा उद्धारमा हेलिकोप्टरको खर्च १३ अर्ब भएको हो? यस्तो छ हिसाब


काठमाडौं। केही दिनदेखि सामाजिक सञ्जालमा गृहसचिव केदार शर्माले भोटेकोशी बाढीमा हेलिकोप्टर उद्धारको लागि १३/ १४ अर्ब रुपैयाँ भुक्तान दिन बाँकी रहेको भनाई चर्चामा छ।

Vigo
GBIME
Tata

संसदीय समितिमा पुगेर प्रधानमन्त्री उद्धार तथा राहत कोष र विपद् व्यवस्थापन कोषमा रकमको विषयमा सांसदले सोधेपछि गृहसचिव शर्माले जवाफ दिँदा हेलिकोप्टरको नै १३/१४ अर्ब बाँकी भएको बताएका थिए। भोटेकोशी बाढीसँगै देश विदेशमा रहेका नेपालीले दिल खोलेर प्रधानमन्त्री दैवी उद्धार कोषमा रकम जम्मा गरिरहेका छन्।

निजी क्षेत्रले समेत रकम दिने प्रतिस्पर्धा चल्दा १६ अर्ब रुपैयाँ कोषमा जम्मा भइसकेको छ। गृह मन्त्रालयकै विपद् कोषमा एक अर्ब रुपैयाँ मौज्दात छ। भोटेकोशी बाढीसँगै त्यो क्षेत्रमा हेलिकोप्टरबाट उद्धार र राहत पुर्‍याउने काम भएको थियो। त्यहाँ नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकोप्टर लगेर उडान गरिएको थियो। तर, त्यो सबै आधारमा १३ अर्ब हेलिकोप्टरमा खर्च भएको हो त? गृहसचिव शर्मा संसदीय समितिमा गएर भनेको कुराको अपब्याख्या भएको बताउँछन्।

‘होइन, मैले प्रधानमन्त्री दैवी उद्धार कोषमा १४ अर्ब रुपैयाँ र गृहको विपद् कोषमा १ अर्ब मौज्दात छ। हेलिकोप्टर लगायतका भुक्तानी बाँकी रहेकाले मौज्दात धेरै देखिएको भनेको हुँ,’सचिव शर्माले बिजमाण्डुसँग भने।

सचिव शर्माले आफूलाई गृह अन्तर्गतको विपद् कोषको मात्र जानकारी हुने र गृहले मृतकका परिवारलाई दिने रकम, पीडितलाई घर भाडा बापत उपलब्ध गराउने रकम र जिल्लामा दिने रकम मात्र जानकारी हुने बताए। शर्मा लामो समय रक्षा मन्त्रालयमा सचिव भएका बसेका व्यक्ति पनि हुन्। भदौ १४ गतेपछि उनी गृहसचिव भएका हुन्।

‘मलाई कति हेलिकोप्टर उडान भयो? कति खर्च हुन्छ भन्ने जानकारी हुँदैन। मैले मेरो अन्तर्गतको कोषको मात्र हेर्छु,’सचिव शर्माले

बुधबार साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नियमितझैं भदौ १० गते भोटेकोशी बाढीको विवरण सार्वजनिक गर्‍यो। जसमा उद्धारको बुधबार (असोज ७ गते) मात्र नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा  खोज, उद्धार र राहत वितरणको लागि ३० वटा हवाई उडान गरिएको थियो।

अहिले  भने प्रभावित क्षेत्रमा निजी क्षेत्रबाट हवाई उडान भएको छैन। सुरुका दिनमा निजी क्षेत्रबाट दैनिक १५ वटाभन्दा बढी हेलिकोप्टर उडेका थिए। सेनाले पनि ७ वटासम्म आफ्नै हेलिकोप्टर उडाएको थियो। बाढी गएको तीन हप्तासम्म पनि सेनाले उडान जारी राखेको छ।

त्यस्तै असोज ६ गते पनि १७ वटा हवाई उडान सेनाले गरेको थियो। असोज ४ गते ३३ वटा उडान नेपाली सेनाबाट भएको देखिन्छ। प्राधिकरणकै अनुसार भदौ १० गतेदेखि असोज ३ गतेसम्म नेपाली सेनाबाट १ हजार ६९२ वटा हवाई उडान भएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ३२० वटा हवाई उडान गरेका छन्। सशस्त्र र नेपाल प्रहरीसँग भने आफ्नै हेलिकोप्टर छैन।

भदौ १० गते राति १० बजेसम्म हेलिकोप्टरमार्फत ११६ जनाको उद्धार गरिएको थियो। सेनाको हेलिकोप्टरले ८८ जना र सिम्रिकबाट १८ जनाको उद्धार गरिएको थियो। सेनाले हालसम्म १७ सय उडान गर्दा कति खर्च भयो त? सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले खर्चको हिसाब नभएको बताए। सेनाको हेलिकोप्टरको लागि नेपाल आयल निगमले नै इन्धन उपलब्ध गराएको थियो। इन्धनको बिल भने निगमले नै पेस गर्ने छ।

‘कति घण्टा उडान भयो भन्ने रेकर्ड राखिएको छैन। करिब १७ सय उडान भएको छ। हाम्रो ७ वटा हेलिकोप्टर प्रयोग भएका छन्,’सहायक रथी बस्नेतले भने।

सेनाले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य हेलिकोप्टर उडानको खर्च भने पाउने गर्छ। तर अन्य निजी क्षेत्रको जस्तो खर्चिलो भने हुँदैन। सामान्यता एउटा उडानको एक घण्टा हिसाव गर्दा पनि सेनाको हालसम्म औसत १७ सय घण्टा मात्र हुन्छ। निजी क्षेत्रको दरका आधारमा खर्च उपलब्ध गराउँदा पनि ५० करोड रुपैयाँ हुन्छ।

सेनाले सबै भन्दा धेरै उडान श्री नम्बर १ सैन्य तालिम केन्द्र नुवाकोटको त्रिशूलीबाट गरेको थियो। प्रभावित क्षेत्र पुग्न हवाई उडान टाढा छैन। १५ मिनेटमा नै पुग्ने ठाउँ छ। एउटा उडान ३० मिनेटमा नै दोहोरो उडान पुरा हुने अवस्था छ। त्यसैले उडान खर्च कम हुन्छ। निगमले इन्धन उपलब्ध गराउँदा सेनालाई दिने खर्च झन् कम हुन्छ।

‘सेनाले रकम पाएन भने उसको हेलिकोप्टर सञ्चालन नै गर्न सक्दैन। तर निजी क्षेत्रको जस्तो रकम भने दिने गरेको छैन,’एक पूर्वरक्षासचिवले भने।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले अहिलेसम्म हवाई उडानको एकमुष्ट खर्च आइनसकेको बताए। ‘हामी उडानको हिसाबकिताब गर्दैछौं। बाहिर भनिएजस्तो १३ अर्ब होइन। मिसलिड गर्ने काम भएको छ,’ उनले भने, ‘त्यति ठूलो रकम आउँदै आउँदैन।’

निजी क्षेत्रको भाडा १० करोड

केही दिनसम्म भोटेकोशी बाढीमा निजी क्षेत्रले उडानको लागि सुरुको दिनमा अनुमति लिनु परेन। दोस्रो दिनबाट भने सरकारसँग समन्वय गरेर उडान गर्न भनिएको थियो।

अघिल्ला विपद्का घटनामा भन्दा सरकारले निजी हेलिकोप्टर उडान अनुमतिमा सजिलो बनाएको थियो। त्यसैले निजी हेलिकोप्टरको प्रयोग बढी भएको थियो। उडान अनुमति भएसम्मको अवधिमा निजी क्षेत्रबाट ३१० घण्टा उडान गरेको छ।

वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार निजी हेलिकोप्टरले प्रतिघण्टा १८ सय डलर लिने गरेका छन्। जसमा भ्याट जोडिनेछ। सामान्यतया औसतमा घण्टाको ३ लाखसम्म लिने गरेका छन्। यसरी निजी क्षेत्रको ३१० घण्टाको उडान गर्दा करिब १० करोड रुपैयाँ खर्च आएको छ।

‘निजी क्षेत्रको १० करोड रुपैयाँ बराबरको खर्च देखिएको छ,’ उनले भने।