काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर र डिबेन्चरमा लगानीका लागि लचिलो नीति लिएको छ।
बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेञ्चरमा ६ महिना बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्थामा संशोधन गरिएको छ। त्यस्तो अवधि अब ४५ दिनमा झारिएको छ। यसले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर र डिबेञ्चरमा लगानी गर्न थप प्रोत्साहन मिल्नेछ।
बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेञ्चरमा लगानीका लागि लगानी नीति तथा कार्यविधि स्वीकृत गराउनुपर्ने सर्त तोकिएको छ। सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरुको सेयर र डिबेञ्चरमा गरिने लगानी सम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराउनु गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी नीति तथा कार्यविधिमा स्पेकुलेटिभ जोखिम न्यूनीकरण हुने गरी कार्यविधि बनाउनुपर्नेछ।
लगानी नीति तथा कार्यविधिमा नीतिगत व्यवस्था सम्बन्धी विषय समावेश गर्नुपर्ने सर्त छ। कार्यविधिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने सेयर, डिबेञ्चरलगायत उपकरण, लगानी उपकरणलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण गर्नु पर्ने विषय समेट्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी कार्यविधिमा एसेप्टेबल र अनएसेप्टेबल लगानी, योग्य काउन्टरपार्टी, लगानीको उपकरण अनुसारको न्यूनतम र अपेक्षित होल्डिङ अवधि समेत तोकिएको हुनु पर्नेछ।
लगानी सम्बन्धी निर्णय तथा कारोबारमा आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व रहेका सेयरधनी र जोखिम लिनेसँग स्वार्थको द्वन्द्व नहुने व्यवस्था गर्नुपर्नेछ। अनुगमन, नियन्त्रण र रिपोर्टिङ गर्ने सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रियाका विषयमा समेत कार्यविधिमा स्पष्ट पार्नुपर्नेछ।
लगानी स्वीकृत गर्ने प्रक्रिया तथा अख्तियारी सम्बन्धी व्यवस्था र लगानी कारोबार गर्न तोकिएको अधिकारीले लगानी गर्न सक्ने सीमा सम्बन्धी व्यवस्था पनि कार्याविधिमा उल्लेख हुनुपर्नेछ ।
लगानी गर्न अख्तियारी प्राप्त अधिकारीको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा पनि स्पष्ट व्यवस्था गर्नु पर्नेछ। त्यसमा जोखिम व्यवस्थापन सम्बन्धी विषय, लगानीमा संलग्न एएलसीओ लगायत विभिन्न समिति तथा इकाईहरुको स्पष्ट कार्य विभाजन र जिम्मेवारी हुनुपर्ने सर्त छ।
बैंक तथा वित्तीय संस्थाले सेयर तथा डिबेञ्चर कारोबार गर्दा कारोबार रणनीति, जोखिम बहन क्षमता तथा सीमा, नाफा लिने र नोक्सान रोक्ने सीमा, लगानी क्षेत्र तथा क्षेत्रगत सीमा, कारोबार बुक सम्बन्धी व्यवस्था कार्यविधिमा उल्लेख गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले दबाब परीक्षण लगायत अन्य बजार जोखिम मापन गरी व्यवस्थापन गर्ने विधि, प्रक्रिया र मोडल पनि अबलम्बन गर्नुपर्नेछ ।
लगानीबाट उत्पन्न हुन सक्ने बजार जोखिम, तरलता जोखिम तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङको सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रियामा बैंक तथा वित्तीय संस्था स्पष्ट हुनुपर्ने व्यवस्था गरिएको छ। वित्तीय उपकरण निष्कासनकर्ताको नियमितरुपमा आन्तरिक जोखिम मापन गर्ने व्यवस्था समेत गर्नुपर्नेछ।