काठमाडौं। हरमीत सिंह र जिम्मी निशमपछि जनकपुर बोल्ट्सले इफ्तिखार अहमदलाई अनुबन्ध गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनका लागि जनकपुरले पाकिस्तानी ब्याटिङ अलराउण्डर इफ्तिखारलाई अनुबन्ध गरेको हो।
उनी आउँदो एनपीएलका लागि जनकपुर बोल्ट्सले घोषणा गरेका तेस्रो विदेशी खेलाडी हुन्। जनकपुरले यसअघि अमेरिकाका हरमीत सिंह र न्युजिल्याण्डका जिम्मी निशमलाई अनुबन्ध गरिसकेको छ। टोलीको कप्तानी हरमीतले गर्नेछन्।
इफ्तिखारले ४ टेस्ट, २८ एकदिवसीय र ६६ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। ३६ वर्षीय इफ्तिखारले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक बनाएका छन्। उनले सन् २०२३ मा पाकिस्तानको मुल्तानमा नेपालविरुद्ध एसिया कपमा शतब बनाएका हुन्। २८औं ओभरमा ब्याटिङमा आउँदै उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरी अविजित १०९ रन बनाएका थिए।
इफ्तिखारले एकदिवसीय अन्तर्राष्ट्रियमा १०६ माथिको स्ट्राइक रेटमा र टी-२० अन्तर्राष्ट्रियमा १२९ माथिको स्ट्राइकमा रन बनाएका छन्। त्यसबाहेक उनी अफ स्पिन बलिङ पनि गर्छन्। उनले सन् २०२० मा जिम्बावेविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा ४० रन खर्चेर ५ विकेट लिएका थिए।
उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२४ मा अमेरिकामा भएको टी-२० विश्वकप खेलेका थिए। उनले सबैखाले टी-२० मा ३२९ खेल खेल्दै ६ हजारभन्दा बढी रन बनाएका छन्।
‘इफ्तिखार अहमदको आगमनले हाम्रो टोलीमा अनुभव, आक्रामकता र म्याच विनिङ क्षमता थपिएको छ। गत सिजन पुछारमा रहँदाको पीडा हामीले बिर्सेका छैनौं। यसपटक हामी बलियो भएर फर्किंदै छौं। यो हाम्रो पुनरागमनको सिजन हो र हामी हाम्रा समर्थकलाई गर्व गर्ने कारण दिन तयार छौं,’ जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भने।