काठमाडौं। अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन्।
महासंघले कार्यकारिणी समिति सदस्य लीलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा नीतिगत विषयमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउन पौडेलको अनुभव उपयोगी हुने महासंघले जनाएको छ।
पौडेल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन्। उनी लामो समयदेखि अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय छन्।
नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन्।
नाडामार्फत उनले अटोमोबाइल क्षेत्रका कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन तथा पार्ट्स प्रयोगलगायत विषयमा सरकारसँगको छलफलमा सहभागिता जनाउँदै आएका छन्।
पौडेलले नेपालको अटोमोबाइल उद्योगको दीर्घकालीन विकासका लागि स्थानीय उत्पादन र एसेम्बली उद्योग विस्तार, अन्तर्राष्ट्रिय मापदण्डअनुकूल स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको बताउँदै आएका छन्।
नयाँ जिम्मेवारीसँगै उनको भूमिका अटोमोबाइल व्यवसायभन्दा बाहिर समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने जनाइएको छ।