काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर सम्झौताका सर्तअनुसार काम नगर्दा सम्बद्ध निकायको सिफारिसमा एकदेखि तीन वर्षका लागि कार्बाही गरेको हो।
आधुनिक कन्स्ट्रक्सन एण्ड सप्लायर्स तीन वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीलाई कार्बाही गर्न डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालय लमजुङले लेखिपठाएको बिहीबार प्रकाशित सूचनामा छ।
यस्तै मोरङको सुन्दर हरैंचा नगरपालिकाको सिफारिसमा कमला शान्ति मत्स्य जेभी दुई वर्षकाको कार्बाहीमा परेको छ। यो जेभीमा दुई कम्पनी कमला शान्ति निर्माण सेवा र मत्स्य पोखरी कन्स्ट्रक्सन प्रालि छन्। पूर्वाधार निर्माणको ठेक्कामा सर्तअनुसार काम नगरेपछि दुवै कार्बाहीमा परेका हुन्।
यसैगरी सुर्खेतको ब्ल्याक माम्बा कन्स्ट्रक्सन प्रालि एक वर्षका लागि कार्बाहीमा परेको छ। उक्त क्मपनीलाई कार्बाही सिफारिस दैलेखको गुराँस गाउँपालिकाले गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा जारी सूचनामा छ। कालोसूचीमा परेका कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिदमा सहभागिता जनाउन पाउँदैनन्।