काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने गरी असोज २८ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले १० प्रतिशत नगद र बाँकी १० बोनस सेयर दिने प्रस्ताव गरेको छ।
बैंकको नाफालाई मात्र हेर्दा उसले २० प्रतिशत लाभांश दिन सक्दैन। तर, बैंकले गत वर्ष पुसमा परिपक्व भएको ऋणपत्र बापतको २ अर्ब १६ करोड रुपैयाँ बोनस सेयरका रुपमा बितरण गर्न पाउने भएकाले लाभांश क्षमता बढेको हो।
परिपक्व भएको ऋणपत्र बापतको सबै रकम बाँड्ने हो भने उसले १६ प्रतिशतसम्म बोनस सेयर दिने क्षमता राख्छ। बैंकले १० प्रतिशत बोनस सेयर त्यसबाट दिएर बाँकी ६ प्रतिशत अर्को वर्षका लागि साँचेको छ।
सिद्धार्थ बैंकको साढे २ अर्बको अर्को ऋणपत्र पनि चालु वर्षको असोज ५ गते परिपक्व भइसकेको छ। यो रकमबाट पनि अर्को वर्ष बोनस सेयर दिन सक्छ। आगामी आर्थिक वर्षको असोज २६ गते अर्को ३ अर्बको ऋणपत्र परिपक्व हुँदैछ। यसले उसको बोनस सेयर वितरण गर्ने क्षमता अझै बढाउने छ।
अहिले नेपाल स्टक एक्सचेञ्जमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको गरेर कुल ७७ वटा कर्पोरेट डिवेञ्जर (ऋणपत्र) सूचीकृत छन्। यी ऋणपत्र चालु वर्षदेखि २०९१ सालसम्म परिपक्व हुने खालका छन्।
चालु वर्षको मंसिर २६ गते लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र परिपक्व हुँदैछ। साथसाथै माघ २६ गते कृषि विकास बैंकको साढे दुई अर्बको, आइसीएफसी फाइनान्सको फागुन २६ गते २० करोडको, गुडविल फाइनान्सको चैत ८ गते २५ करोड रुपैयाँको परिपक्व हुँदैछ।
तीन वर्षदेखि लाभांश दिन नसकिरहेको प्रभु बैंकको आगामी वर्षको साउन २८ गते २ अर्बको ऋणपत्र परिपक्व हुँदैछ। यसबाहेक फागुन ८ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्बको र फागुन ११ गते ग्लोबल आइएमइ बैंकको ५ अर्बको ऋणपत्र परिपक्व हुँदैछ।
ऋणपत्र परिपक्व भएसँगै यी बैंकको लाभांश क्षमता बढेर जाने छ। ऋणपत्र परिपक्व हुने मिति नजिकिएका संस्थाहरुको लाभांश क्षमता बढ्ने भएकाले दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यी कम्पनीहरुको मूल्यमा सकारात्मक प्रभाव पर्न थालेको छ।
कसरी ऋणपत्रबाट लाभांश बाँड्न मिल्छ?
नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण विस्तार गर्नका लागि पुँजी कोषको अभाव नहोस् भनेर ऋणपत्र जारी गर्ने सुविधा दिएको छ। यसरी जारी गरिएको ऋणपत्रलाई बैंकहरुले पुँजी पर्याप्तता अनुपात (सीएआर) गणना गर्दा सहायक पुँजीका रुपमा (टायर-२) देखाउन पाउँछन्। पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत हुनु पर्छ।
पुँजी पर्याप्तता अनुपात भनेको- बैंकहरुले कसैलाई कुल १०० रुपैयाँ ऋण दिने हो भने ११ रुपैयाँ सेयरधनीको कोषबाट हुनु पर्छ। त्यसपछि मात्र ८९ रुपैयाँ निक्षेपकर्ताको पैसा चलाउन पाइन्छ। कहिलेकाँही सेयरधनीको ११ रुपैयाँ नहुन सक्छ। त्यसबेला बजारमा जारी गरिएको ऋणपत्रलाई सेयरधनीकै पैसाका रुपमा (सहायक पुँजी) गणना गर्ने सुविधा राष्ट्र बैंकले दिएको छ।
ऋणपत्र बैंकहरुले ५ देखि १० वर्षसम्मका लागि जारी गर्छन्। यसरी जारी गरिएको ऋणपत्रबाट आएको रकमले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम भइरहेको हुन्छ। मानौ ५औं वर्ष ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र परिपक्व हुने रहेछ। पुँजी पर्याप्तता अनुपातमा गणना गरिरहेको ५ अर्ब रुपैयाँ एकै पटक परिपक्व भएर बाहिरिँदा बैंकहरु अप्ठेरो अवस्थामा पर्न सक्छन्।
यस्तो अप्ठेरो नपरोस् भनेर राष्ट्र बैंकले हरेक वर्षको नाफाबाट समानुपातिक रुपमा त्यसबापतको रकम ‘क्यापिटल रिडम्सन रिजर्भ’ भनेर छुट्याउन लगाउँछ। ५ अर्बको ऋणपत्र ५ वर्षका लागि जारी हुँदा पहिलो र अन्तिम वर्ष नाफाबाट छुट्याउनु पर्दैन। बीचको तीन वर्षमा नाफाबाट ५ अर्ब रुपैयाँ ‘क्यापिटल रिडम्सन रिजर्भ’ भनेर छुट्याइ सक्नुपर्छ।
जब ऋणपत्र परिपक्व हुन्छ त्यो बेला बैंकले ऋणपत्र खरिद गरेकाहरुलाई आफ्नो तरल कोषबाट भुक्तानी गरिदिन्छन्। यस बीचमा ‘क्यापिट रिडम्सन रिजर्भ’ मा जम्मा भएको रकम फुकुवा हुन्छ। यो पैसालाई बैंकहरुले सहायक पुँजीबाट प्राथमिक पुँजीमा लैजान बोनस सेयरका रुपमा वितरण गर्छन्। बोनस सेयरका रुपमा लाभांश वितरण हुने भएकाले अहिले ऋणपत्र परिपक्व भएका वा हुन लागेका बैंक तथा वित्तीय संस्थाहरुको सेयर मूल्य चलायमान देखिएको हो।