काठमाडौं।परराष्ट्र मन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षाको प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको अभियानमा नेपालले पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्र संघको ८१औं महासभाका अवसरमा राष्ट्र सङ्घका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ-पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा भएको साइडलाइन भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्र संघले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गरे।
‘संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्र सङ्घले निरन्तर व्यक्त गर्दै आउनुभएको विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ मन्त्री खनालले भन्नुभयो, ‘नेपालले संयुक्त राष्ट्र सङ्घसँगको आफ्नो दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ।’
मन्त्री खनालले नेपाल संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे।
‘हाल करिब १२ वटा संयुक्त राष्ट्र संघीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,’ उनले भने, ‘संयुक्त राष्ट्र संघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ।’
राष्ट्र संघबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढंगले प्रतिक्रिया जनाउँदै आएको उल्लेख गर्दै उनले कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए।