BIZMANDU
www.bizmandu.com

बाढीले नाका र राजमार्ग बन्द हुँदाको असर आयातमा देखिएन, भदौमा भित्रियो २.१४ खर्बको वस्तु

२०८३ असोज ७

बाढीले नाका र राजमार्ग बन्द हुँदाको असर आयातमा देखिएन, भदौमा भित्रियो २.१४ खर्बको वस्तु
बाढीले नाका र राजमार्ग बन्द हुँदाको असर आयातमा देखिएन, भदौमा भित्रियो २.१४ खर्बको वस्तु


काठमाडौं। चीनसँगका दुई मुख्य नाका बन्द र काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग दुई साताभन्दा बढी ठप्प हुँदा समेत आयात बढेको छ।

Vigo
GBIME
Tata

भदौ महिनामा २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्ष दुई महिनामा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँको सामान भित्रिएको छ। यो आयात पोहोर पहिलो दुई महिनाको तुलनामा ३१.५८ प्रतिशत बढी हो।

गत साउनमा १ खर्ब ८७ अर्ब ४४ करोडको सामान आयात भएको थियो।

निर्यात पनि ६१.८६ प्रतिशतले बढेको छ। दुई महिनामा ७६ अर्ब ५८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। साउन र भदौमा निर्यात पनि बराबर जस्तै देखिएको छ। साउनमा ३८ अर्ब ७० करोडको वस्तु आयात भएको थियो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण चीनसँगको मुख्य नाका रसुवागढी ध्वस्त भएको छ भने अर्को नाका तातोपानी चीनले १४ गतेदेखि बन्द गरेको छ।

चीनबाट अहिले कोरला नाका हुँदै सामान ल्याउने गरिएको छ। यस्तै पृथ्वी राजमार्ग कृष्णभीरको सडक भासिएपछि भदौ १४ देखि ३१ गतेसम्म बन्द भएको थियो।

दुई महिनामा कच्चा भटमास तेल सबैभन्दा धेरै ३८ अर्ब ५ करोड रुपैयाँको आयात भएको छ। यस्तै डिजल २८ अर्ब ३ करोड ९८ लाख, पेट्रोल १६ अर्ब १३ करोड र एलपी ग्यास १६ अर्ब २ करोड रुपैयाँको भित्रिएको तथ्यांक छ।

विद्युतीय सवारीसाधनको आयात बढ्दा इन्धन दुई पाङ्ग्रेको घट्यो

दुई महिनामा कुल २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको सवारीसाधन आयात गरिएको छ। यसबाट सरकारले २० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

इभी प्यासेन्जर सवारीसाधनको आयात ८२ प्रतिशतले बढेको छ। २ महिना करिब ३ हजार युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्।

विभागका अनुसार साउन र भदौमा गरी ६ अर्ब ६९ करोड रुपैयाँ बराबरका २ हजार ८३४ युनिट विद्युतीय प्यासेन्जर भेहिकल आयात गरिएको हो। यसबाट सरकारले ४ अर्ब २९ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। करको प्रणालीमा परिवर्तनले पनि राजस्व संकलन बढेको हो।

गत आवको साउन र भदौमा १ अर्ब २७ करोड रुपैयाँ बराबरका ४८६ युनिट मात्रै इभी प्यासेन्जर सवारीसाधन आयात भएका थिए।

यसैगरी अन एसेम्बल गरिएका २३८ युनिट प्यासेन्जर सवारीसाधन आयात गरिएका छन्।

चालु आवको दुई महिनामा इन्धन दुई पाङ्ग्रे सवारीसाधनको आयात भने ५ प्रतिशतले घटेको छ। साउन र भदौमा गरी ८ अर्ब २८ करोड रुपैयाँ बराबरको ५६ हजार ८७८ युनिट इन्धनबाट चल्ने दुईपाङ्ग्रे सवारीसाधन आयात भएका छन्।

गत आवको सोही अवधिमा ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको ५९ हजार ७५० युनिट दुईपाङ्ग्रे आयात भएको तथ्यांक छ।