काठमाडौं। सरकारले जलविद्युत आयोजनाको दुई प्रतिशत प्राथमिक सेयर (आइपीओ) सुरक्षाकर्मीका लागि छुट्याउनुपर्ने व्यवस्था गर्न लागेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले भएको क्षतिबारे बुधबार प्रतिनिधि सभाको बैठकमा जानकारी गराउने क्रममा जलविद्युत आयोजनाको २ प्रतिशत आइपीओ सुरक्षाकर्मीका लागि सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
बाढीमा परेकाहरुको खोज तथा उद्धारमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको २ प्रतिशत आइपीओ छुट्याउनुपर्ने व्यवस्था गर्न लागेको उनको भनाइ छ।
‘कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित साधनस्रोतका बीच पनि खोज, उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय छ। उहाँहरूको समर्पण र योगदानको उच्च सम्मान गर्दै बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आइपीओ)मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन आवश्यक प्रक्रिया अघि बढाएको विषय समेत निवेदन गर्दछु,’ उनले भने।