काठमाडौं। चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिपले पाँचतारे डिलक्सको मान्यता पाएको छ। पर्यटन विभागले स्थलगत निरीक्षणपछि रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो।
रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेड अन्तर्गत सञ्चालित छ। कम्पनीले स्तरीकरणका लागि करिब तीन साताअघि विभागमा निवेदन दिएको थियो।
विभागका निर्देशकसहितको चार सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षणपछि तोकिएका मापदण्ड पूरा गरेको भन्दै पाँचतारे डिलक्सको मान्यता दिएको हो।
रोयल टुलिपको स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याडलगायत रिभल्भिङ रेस्टुरेन्ट समेतका सुविधा छन्। रिसोर्टले नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ। मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोर्टसबार’ समेत सञ्चालनमा छ।
रिसोर्ट गत डिसेम्बर मध्यदेखि पूर्णरूपमा सञ्चालनमा छ।
केटीएम हस्पिटालिटी लिमिटेडले आइपीओ निष्कासनको प्रक्रिया पनि अगाडि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन्।