काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत आयोजनामा भएको क्षतिबारे संसद्लाई जानकारी गराएका छन्।
उनले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बाढीका कारण भएको मानवीय र भौतिक क्षतिबारे जानकारी गराएका हुन्।
उनका अनुसार बाढीमा परी विभिन्न जलविद्युत आयोजनामा कार्यरत ८०० जना भन्दा बढी अझै सम्पर्कविहीन छन्। तीमध्ये ४७ जना नेपालविद्युत प्राधिकरणका कर्मचारी हुन्।
बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा १ हजार ४३३ जना कार्यरत रहेकामा अझै ४३९ जना सम्पर्कविहीन छन्।
बाढी आएको १२औं दिनमा सो आयोजनाबाट एकजना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो। यो आयोजनामा हालसम्म ३९ जनाको शव फेला परेको छ।
माथिल्लो त्रिशूली–थ्री ‘ए’का ३९ जना सम्पर्कविहीन छन्। यो आयोजनाबाट बाढी आएको १०औं दिनमा प्राधिकरणका दुई कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको थियो। श्रेष्ठका अनुसार यो आयोजनामा एक जनाको शव प्राप्त भएको छ।
उनले माथिल्लो त्रिशूली–३ बीका १७८, रसुवागढी जलविद्युत् आयोजनाका ९३, मैलङ खोला जलविद्युत आयोजनका ७, रसुवा–भोटेकोशी जलविद्युत आयोजनाका ३ र लाङटाङ खोला जलविद्युत आयोजनाका ३९ जना सम्पर्कविहीनरहेको जानकारी दिए। यो आयोजनाबाट १९ जनाको सकुशल उद्धार गरिएकामा दुई जनाको शव फेला परेको छ।
यस्तै चिलिमे जलविद्युत आयोजनाको विद्युत गृहबाट ५ कर्मचारीको शव फेला परेकामा एक जना अझै सम्पर्कविहीन छन्।
‘मिडिल त्रिशूली गंगा जलविद्युत आयोजनाबाट २, त्रिशूली जलविद्युत केन्द्रबाट ३, देवीघाट जलविद्युत केन्द्र, त्रिशूली-थ्री बी हब, रसुवा वितरण केन्द्र, चिलिमे–त्रिशूली प्रसारण लाइनबाट पनि कर्मचारीहरु सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको सम्मानित संसद समक्ष निवेदन गर्दछु,’ विराजभक्तले भने।
बाढीका कारण प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्।
बाढीपूर्व सञ्चालनमा रहेका ७ वटा जलविद्युत आयोजना र एउटा सोलार आयोजनाको गरी २७५ मेगावाट क्षति भएको छ भने १३५ मेगावाट क्षमताका ३ वटा जलविद्युत आयोजनामा क्षति नभए पनि प्रसारण लाइनमा क्षति हुँदा हाल उत्पादन बन्द छ।विपद्बाट कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीभन्दा बाहिर छ।
त्यस्तै ५०८ मेगावाट क्षमताका ६ वटा निर्माणाधीन जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। बाढीका कारण प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसनमा पूर्ण क्षति भएको छ।
मातातीर्थ–चिलिमे २२० केभी हब पनि अवरुद्ध भएको छ। १३२ केभीको त्रिशूली थ्री बी हबको मातातीर्थ प्रसारण लाइन, ६६ केभीको चिलिमे–मातातीर्थ प्रसारण लाइनमा क्षति पुगेको छ। चिलिमे स्विचयार्ड, माथिल्लो त्रिशूली थ्री ए स्विचयार्ड, देवीघाट स्विचयार्डसँगै वितरण लाइन तथा पोल लगायत संरचनामा पनि ठूलो क्षति भएको छ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए।