काठमाडौं। काठमाडौंको हनुमानढोका क्षेत्रमा बुधबार इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको छ। बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा ‘यसिँ थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ।
हनुमानढोका कागेश्वरी मन्दिर नजिकै कालभैरव अगाडि यसिँ ठड्याइएको थियो। यसिँ ठड्याएसँगै इन्द्रजात्राको मुख्य विधि सुरु भएको मानिन्छ।
यसिँ थनेगुको अवसरमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्षसहित जनप्रतिनिधि, स्थानीयवासी र श्रद्धालुको बाक्लो उपस्थिति थियो। हनुमानढोका क्षेत्र जात्राको उत्सवमय वातावरणले भरिएको थियो।


यसिँमा ८ वटा काठका टुक्रा राख्ने परम्परा छ। यो कार्यमा न्हय्स नाय र चस्वाद्वँ टोलका मानन्धर समुदायको अनिवार्य सहभागिता रहने गर्दछ।
अष्टमातृकाको प्रतीकका रूपमा यी काठका टुक्रा राखिन्छन्। यसलाई ‘लाकासिँ’ भनिन्छ।
यसिँ उठाउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो। त्यस अवसरमा तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडासमेत ल्याइएको थियो।


यस क्रममा ‘दिप्याखं’ अर्थात् देवी नाच पनि प्रस्तुत गरियो। इन्द्रजात्रामा निकालिने यो पहिलो नाच हो। यसले जात्राको धार्मिक र सांस्कृतिक वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो।
यसिँ ठड्याएपछि त्यसको माथि इन्द्रको चिह्न अंकित ध्वजा फहराइएको छ। यसलाई ‘हलिंपता’ भनिन्छ। हलिंपता फहराएपछि मानन्धर समुदायले सबैभन्दा पहिले पूजा गर्ने परम्परा छ।
यसिँको माथिल्लो भागमा गजुरजस्तो देखिने ‘भोगटे’ राखिएको हुन्छ। यसको फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ। श्रद्धालुले उक्त मूर्तिको पूजा तथा आराधना गर्ने गर्छन्।


यसिँ ठड्याउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट इतिहास छैन। तर रणबहादुर शाहको पालादेखि हालको स्थानमा यसिँ ठड्याउन थालिएको विश्वास गरिन्छ। त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अगाडि यसिँ ठड्याउने गरिएको भनाइ छ।
नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा यसिँलाई उल्लास, विजय र उत्सवको प्रतीकका रूपमा लिइन्छ। यससँगै काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक बस्तीमा जात्राको रौनक बढेको छ।
इन्द्रजात्राको मुख्य रथयात्रा यही असोज ९ गते शुक्रबार सुरु हुनेछ। पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराइनेछ। पूजा सम्पन्न भएपछि रथलाई तल्लो टोलतर्फ लगिनेछ।


पहिलो दिनको रथयात्रापछि ‘दाँगी’को नगर परिक्रमा गराउने परम्परा छ। दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मानिन्छ।
वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने चलन पनि इन्द्रजात्रासँग जोडिएको छ।
असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यसपछि असोज १३ गते मंगलबार ‘नानीचाया’ मनाइनेछ। नानीचायाका दिन माथिल्लो टोलको किलाघः हुँदै रथको नगर परिक्रमा गराउने परम्परा छ।


इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिता विशेष रहँदै आएको छ। पछिल्लो १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तान्ने परम्पराले निरन्तरता पाएको छ।
नानीचायाका दिन राष्ट्रपतिको उपस्थितिमा कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा पनि छ। विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइने इन्द्रजात्राले काठमाडौंको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छ।

