BIZMANDU
www.bizmandu.com

विद्युत् प्राधिकरण हिउँदको माग धान्न अहिलेदेखि नै दबाबमा, ठाकुरको नेतृत्वमा समिति गठन

२०८३ असोज ७

विद्युत् प्राधिकरण हिउँदको माग धान्न अहिलेदेखि नै दबाबमा, ठाकुरको नेतृत्वमा समिति गठन
विद्युत् प्राधिकरण हिउँदको माग धान्न अहिलेदेखि नै दबाबमा, ठाकुरको नेतृत्वमा समिति गठन


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यका लगायत क्षेत्रमा विद्युत् माग व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ।

Vigo
GBIME
Tata

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ४३१ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणले हिउँदको माग व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी कार्ययोजना बनाउन समिति गठन गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयोजना व्यवस्थापन निर्देशनालय र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक तथा विभिन्न विभागका प्रमुखको बैठक राखेर बागमती प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिमा आयोजना व्यवस्थापन निर्देशनालयका प्रबन्धक दीपा श्रेष्ठ, काठमाडौं ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठ लगायत सदस्य छन्। समितिमा सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई पनि सदस्य राखिएको छ।

समितिलाई दैनिक कार्य प्रगति विवरण सोझै कार्यकारी निर्देशकसमक्ष पेस गर्न र कार्यसम्पादनका क्रममा देखिने व्यावहारिक तथा प्राविधिक समस्याको तत्काल जानकारी गराउन भनिएको छ।

कार्यकारी निर्देशक त्रिशूली नदी बेसिनका जलविद्युत् केन्द्र बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा चाप परेको तर हिउँदमा लोडसेडिङ हुने सम्भावना भने नरहेको बताए।

‘बाढीले त्रिशूली कोरिडोरका आयोजना बन्द भए। त्यसैले विद्युत् आपूर्ति निरन्तर राख्नका लागि हामीले अहिलेदेखि नै वैकल्पिक उपाय र आवश्यक तयारी सुरु गरेका हौं,’ कार्यकारी निर्देशक श्रेष्ठले बिजमाण्डूसँग भने, ‘४१३ मेगावाट बिजुलीको उत्पादन बन्द भएकाले स्वाभाविक रुपमा दबाबमा परेका छौं। तर हामी लोडसेडिङ हुन दिंदैनौं। निर्माणको अन्तिम चरणमा पुगेका आयोजना चाँडो सम्पन्न गर्न गर्न लगाउँछौं।’

बैठकले काठमाडौं उपत्यका आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका पूर्वाधार आयोजना तोकिएकै समयभित्र सम्पन्न गर्न समयसीमा निर्धारण गरेको छ।

देवीघाट सबस्टेसनलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ।