काठमाडौं। अमेरिकाले बाढीपीडितको पुनर्स्थापनाका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिला हेर्ने उपसचिव एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग घोषणा गरेकी हुन्।
अमेरिकाले स्थायी र आवश्यकताअनुसार निर्माण गरिने पुलका लागि १ करोड डलर उपलब्ध गराउने बताएको छ। यी पुल बाढीबाट प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना गर्न र क्षेत्रीय आवागमन सहज बनाउन प्रयोग गरिने बताइएको छ।
त्यस्तै, खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाका लागि अमेरिकाले थप ८० लाख डलर सहयोग गर्ने छ। उक्त रकम आश्रय, सुरक्षा, जीविकोपार्जन तथा जाडोयामका लागि आवश्यक सहयोगमा समेत प्रयोग गरिनेछ।
अमेरिकाले भविष्यमा हुने विपद् पुनर्स्थापनाका लागि १ करोड ३० लाख डलर बराबरका अमेरिकी निर्मित ड्रोन उपलब्ध गराउने पनि जनाएको छ। यी ड्रोनलाई आगामी विपद्का बेला राहत तथा पुनर्स्थापनासम्बन्धी काममा सहयोग पुर्याउने उद्देश्यले प्रयोग गरिने बताइएको छ।
नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्स्थापनामा अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुग्नेछ। अमेरिकाले आवश्यकताअनुसार थप सहयोग पहिचान गरी नेपाल सरकारसँग मिलेर काम जारी राख्ने जनाएको छ।
भेटका क्रममा हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरेकी थिइन्। बाढीपछि करिब ७० अमेरिकी नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूका परिवारप्रति पनि अमेरिकी पक्षले समवेदना जनाएको छ।