काठमाडौं। एसियन गेम्समा क्रिकेट खेल्न नेपाली टोली जापानमा छ। नेपालले आउँदो शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग खेल्नेछ। अन्य खेलमा एकपछि अर्को निराशाजनक प्रदर्शन गरिरहेको नेपालको आशा क्रिकेटमा बाँकी नै छ।
क्रिकेटमा नेपालले सहज मानेको प्रतिद्वन्दी हो जापान। आफूभन्दा निकै पछिको वरीयतामा रहेको जापानमाथि नेपालले प्रभावशाली जित निकाल्छ भन्ने विश्वास पनि थियो। तर, आजको खेलले स्थिति फरक हुनसक्छ भन्ने देखाएको छ।
एसियन गेम्सअघि भारसँग टी-२० सिरिज खेलेको जापानले निकै कडा चुनौती प्रस्तुत गरेको छ। सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल वर्षाका कारण निकै ढिला गरी ओभर छोट्याएर खेलाइएको थियो। ५ ओभरको खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाएर ३२ रन बनायो।
भारतका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक १६ रन बनाउँदा सञ्जु सामसनले ९, इशान किसनले ३ रन बनाउँदा अभिषेक शर्मा खाता नखोल्दै पभेलियन फर्किए। जापानका लागी चार्ली हार-हिन्जेले सर्वाधिक २ विकेट लिँदा इब्राहिम ताकाहासी र बेन्जामिन इटोडेभिसले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जापन लक्ष्यमा पुग्न ३ रनले चुक्यो। कप्तान केन्डेल काडोवाकीले सर्वाधिक १२ रन बनाउँदा बेन्जामिन इटो ९ रनमा अविजित रहे। भारतका वासिंटन सुन्दरले २ विकेट लिए।
भारतविरुद्धको जापानको यो प्रदर्शनले नेपाललाई झस्काएको छ। यो प्रदर्शन हेर्दा नेपालले शनिबार जापानलाई हल्कारुपमा लिनु गल्ती हुने देखिन्छ।