काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई व्यवस्थित र सहज बनाउन सरकारका तीन संस्थाबीच सम्झौता भएको छ।
यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौताअनुसार यातायात व्यवस्था विभागमा सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ।
ती लाइसेन्स हुलाक सेवा विभागले सम्बन्धित प्रदेश कार्यालय वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने छ।