विराटनगर। काठमाडौंको खुद्रा बजारमा प्रति किलो १५० रुपैयाँसम्म पुगेको चिनीको मूल्य एक सातामै १२० रुपैयाँमा झरेको छ। चिनीको मूल्य मात्र घटेको होइन, उपभोक्ताले सहजै पाइरहेका छन्।
अकस्मात् मूल्यमा ट्विस्ट कसरी आयो? के चमत्कार भयो र मूल्य घट्यो?
व्यवसायीका अनुसार यसमा प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मुख्य भूमिका छ।खाससगरी समितिका सभापति रहबर अन्सारीले सक्रियता देखाउँदै चिनी उद्योगलाई भ्याटबाहेक किलोको ८५ रुपैयाँका दरले साल्ट ट्रेडिङलाई बिक्री गर्न लगाएका कारण बजारमा मूल्य घटेको हो।
भारतले गत चैत ३० गते चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसको भोलिपल्टै नेपालका चिनी उद्योगीले किलोमा २ रुपैयाँ मूल्यवृद्धि गरेका थिए।
सुनसरीको इस्टर्न सुगर मिल्सले चैत ३० सम्म भ्याटबाहेक कारखाना मूल्य किलोको ८६ रुपैयाँमा बिक्री गरिरहेको चिनीको भाउ भोलिपल्ट ८८ रुपैयाँ पुर्याएको थियो। यसपछि क्रमशः ९२, ९७ हुँदै किलोको १०७ रुपैयाँसम्ममा बिक्री गर्यो।
भदौ १४ गते कृष्णभीरको सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा व्यापारीले मनोमानीरुपमा मूल्य बढाएर चिनीको भाउ प्रति किलो १५० रुपैयाँसम्म पुर्याएका थिए। त्यति मात्र होइन उनीहरुले अभाव सृजना गरेका थिए। जसले मूल्य अझै अकासिने अवस्था निम्तिएको थियो।
तर, उद्योग समितिको हस्तक्षेपले मूल्य नियन्त्रणका साथै आपूर्ति सहज भएको काठमाडौं थोक व्यापारीको बुझाइ छ।
‘भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि सुनसरीको इस्टर्न सुगर मिल्सले मात्र नभई देशभरिका उद्योगले चिनी छैन भन्दै अभाव देखाएर मूल्य बढाउँदै आएका थिए। कृष्णभीरको पहिरो उनीहरुका लागि अर्को बहाना बन्यो। चिनी उद्योगको मनोमानीलाई उद्योग समितिका सभापतिले नजिकबाट हेरिरहनुभएको रहेछ। उहाँले हरेक १५ दिनमा उद्योगमा भएको चिनीको यथार्थ मौज्दात लिनुभएका कारण उद्योगीहरु ट्र्यापमा परे। उहाँले उद्योगहरुलाई किलोको ८५ रुपैयाँका दरले साल्ट ट्रेडिङलाई बिक्री गर्न बाध्य बनाउनुभयो,’ काठमाडौंका एक होलसेलरले भने।
काठमाडौंका अर्का व्यवसायी देवेन्द्र गुप्ता पनि समितिका सभापतिको निगरानीका कारण उद्योगीहरु चिनीको मूल्य घटाउन बाध्य भएको बताउँछन्।

‘हरेक वर्ष उद्योगीले चाडबाडको मुखमा चिनीको अभाव देखाएर मूल्य बढाउने गरेका छन्। उनीहरुले यसपालि कृष्णभीरको सडकलाई देखाएर तीजका बेला त्यही गरे। तर बजारमा अभाव हुनुपर्ने र मूल्य बढ्नुपर्ने कुनै कारण थिएन,’ गुप्ताले भने, ‘तर समितिका सभापतिको सक्रियताका कारण उद्योगीहरुको मनोमानी लामो समय चलेन।’
उनका अनुसार समितिको सक्रियतामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हस्तक्षेप नगरेको भए चिनीको भाउ लगातार बढ्ने थियो। ‘समितिले हस्तक्षेप नगरेको भए यो वर्ष चिनीको मूल्य प्रति किलो २०० रुपैयाँ माथि जाने अवस्था आउँथ्यो,’ गुप्ताले भने।
चिनीका अर्का होलसेलर केदार रिजालले पनि उद्योग समितिका सभापतिको सक्रियताका कारण चिनीको आपूर्ति सहज भएको र मूल्य नियन्त्रणमा आएको बताए।
साल्ट ट्रेडिङले आफ्ना डिलरलाई चिनी प्रति किलो १०५ र १०९ रुपैयाँका दरले बिक्री गरिरहेको छ। यही चिनी बजारमा किलोको १२० रुपैयाँका दरले उपभोक्ताले किनिरहेका छन्।
त्यसो त बजारमा चिनीको मूल्य घट्नुको कारण भाटभटेनी सुपरमार्केटले आफ्ना सबै स्टोरमा किलोको ११० रुपैयाँमा उपलब्ध गराउनु पनि अर्को कारण हो। भाटभटेनीले एक ग्राहकलाई ३ किलोका दरले चिनी बेच्दै आएको छ। बिगमार्ट र सेल्सबेरीले पनि ११० रुपैयाँभन्दा बढी लिएका छैनन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मन्त्रालयको नेतृत्व सम्हालेको छैटौं दिन भदौ ३० गते सरोकारवालाहरुको बैठक राखेर उपत्यकाका १ हजार भन्दा बढी बिक्री केन्द्रमा ११० रुपैयाँका दरले चिनी पाइने विज्ञप्ति निकाल्न लगाएका कारण पनि उद्योगीहरु दबाबमा परे।

साल्ट ट्रेडिङलाई किलोको ८५ रुपैयाँमा चिनी बिक्री गरेपछि उद्योगले गर्ने अर्को एक बदमासी पनि नियन्त्रणमा आयो। त्यो बदमासी हो- न्यून बिजकीकरण।
सबैजसो उद्योगले बिक्रीमा न्यून बिजकीकरण गर्दै आएका छन्। यसपटक न्यून बिजकीकरण झन् बढीरहेको थियो।
भारतले चिनी निर्यात बन्द गरेपछि सरकारले चिनी उत्पादक संघलाई वार्तामा बोलाएर भ्याटबाहेक किलोको ८५ भन्दा बढीमा बिक्री नगर्न सहमत गराएको थियो।
तर, उद्योगी त्यसमा अडिएनन्। उनीहरूले सरकारलाई देखाउन अन्डर इन्भ्वाइसिङ गर्दै करबीजक किलोको ८५ कै जारी गरे। तर, कसैले ९५ र कसैले ९७ रुपैयाँका दरले बिक्री गर्न थाले।
समितिका सभापति अन्सारीले किलोको ८५ रुपैयाँका दरले बिक्री गर्न लगाएपछि अन्डर इन्भ्वाइसिङको खेलोमेलो पनि सकियो।
साल्ट ट्रेडिङले १ प्रतिशत भन्सार सुविधामा २५ हजार टन चिनी आयात गर्न थालेका कारण पनि चिनीको मूल्य घट्नुको कारण हो।

साल्ट ट्रेडिङका डेपुटी सीइओ कुमार राजभण्डारीका अनुसार कम्पनीले विराटनगर र वीरगंज नाकाबाट २५/२५ सय टन गरी ५ हजार टन चिनी भित्र्याइसकेको छ। २५०० टन २ दिनभित्रै आइपुग्नेछ। अर्को ५ हजार टन लोड भएर हिँडिसकेको छ। थप १ हजार टनको अर्डर भारतको निर्यात सहकारी एनेसललाई पठाइएको छ।
‘दसैं अगाडि हामी साढे १३ हजार टन चिनी भित्र्याइसक्छौं। यसले बजारमा आपूर्तिलाई अझ सहज बनाउने छ। र, मूल्य पनि नियन्त्रणमा आउनेछ,’ राजभण्डारीले भने।