काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी प्रकरणमा मृत्यु हुने मकवानपुर सिस्नेरीका चालक अर्जुन दोङ भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार उनी २०८२ कार्तिकमा बालाजुमा बस दुर्घटनामा फरार भएको खुलेको हो।
उनले दाबा लामा नाम गरेका व्यक्तिको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको देखिएको छ। उनले अरुको बैंक र कागजपत्र समेत प्रयोग गर्दै आएको एसएसपी घिमिरेले बताए।
यस घटनाबारे छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। समितिलाई पाँच दिनभित्र रिपोर्ट बुझाउन भनिएको छ।
सोमबार बिहान काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकले आफू भित्रै बसेर आगो लगाएका थिए। बसका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीको समयमा बसमा यात्रु र सहचालक भने थिएनन्। आगलागीभन्दा केही समयअघि सडकमा खटिएका ट्राफिक प्रहरी र चालकबीच विवाद भएको देखिएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियो अनुसार चालकले स्टेरिङ समाएकै स्थानबाट ‘मेरो गल्ती बिना किन उहाँले यस्तो गर्नु भयो त? म मर्न तयार छु तर उहाँहरूलाई छोड्दिन’ भनेको सुनिन्छ। विवाद भएपछि सशस्त्र प्रहरीले समेत सम्झाएका छन्।
त्यो विवादको केही समयमै चालकले आफूसहितलाई आगो लगाएको प्रहरीले जनाएको छ।
त्रिपुरेश्वरमै गत असार २५ गते नगर प्रहरीसँगको विवादपछि मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए। उनको पनि उपचारका क्रममा मृत्यु भएको थियो।