काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीमा विद्यमान सिन्डिकेट तोड्न त्यहाँका समकक्षी अनवर इब्राहिमलाई आग्रह गरेका छन्।
बालेनले मंगलबार मलेसियाका प्रधानमन्त्री इब्राहिमलाई टेलिफोन गरी सिन्डिकेट र बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने बताएको उनको सचिवालयले जनाएको छ। बालेनले रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिए।
उनले रोजगारीका क्षेत्रमा विद्यमान सिन्डिकेट तथा बिचौलिया प्रथा जस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकता औंल्याएका छन्।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन। यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ बालेनलाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘त्यसैले तपाइँका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैंका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’
मलेसियाका प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै यस विषयमा आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमले भने।
मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनी मात्र छानेपछि प्रधानमन्त्री बालेनले आफैं त्यहाँका प्रधानमन्त्रीलाई फोन गरेका हुन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयले सूचीमा परेका २५ कम्पनीको कारोबार र उनीहरूलाई श्रमिक मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे वैदेशिक रोजगार विभागलाई छानबिन गर्न लगाएको छ।