काठमाडौं। अबको १९औं दिनमा दसैं सुरु हुँदैछ। यो वर्षको दसैंमा मासुका लागि काठमाडौं उपत्यकामा करिब ४० हजार चौपायाको माग हुने अनुमान छ। निजी क्षेत्रले दसैंका लागि सोहीअनुसार खसीबोका र च्याङ्ग्रा बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
कलंकीस्थित चौपाया खरिद-बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार दसैंमा उपत्यकामा ३५ देखि ४० हजार चौपायाको माग हुने अनुमान छ। तर, यस वर्ष खसीबोकाको उत्पादन कम भएकाले अहिले नै बजारमा मागअनुसार आपूर्ति हुन सकेको छैन।
‘खसीबोकाको उत्पादन कम भएकाले अहिले बजारमा अभाव छ। मागअनुसार खसीबोका बजारमा भित्रिएका छैनन्,’ खतिवडाले भने, ‘दसैंका लागि खसीबोका तयार गरिने जिल्लामा पनि यस पटक उत्पादन पर्याप्त नभएको जानकारी आइरहेको छ।’
उनका अनुसार केन्द्रले दसैंका लागि आवश्यक खसीबोका उत्पादनको अवस्थाबारे विभिन्न जिल्लाबाट जानकारी संकलन गरिरहेको छ। ‘अहिले तयारी केही गरिएको छैन। हरेक वर्ष दसैंको समयमा बजारमा हुने चौपायाको माग हामीलाई थाहा छ। सोही अनुपातमा सकेसम्म खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी छ,’ उनले भने।
उत्पादन कम भएकाले यस वर्ष दसैंमा खसीबोकाको मूल्य केही महँगो हुने उनको भनाइ छ। स्वदेशी उत्पादनले माग धान्न नसक्ने अवस्था आए भारतबाट खसीबोका आयात गर्नुपर्ने उनले बताए।
‘स्वदेशी उत्पादनले नपुग्ने भएपछि भारतबाट खसीबोका ल्याउनुपर्ने हुन्छ। अब यसबारे सरकारलाई जानकारी गराउँदैछौं। यो साता वाणिज्य विभागमा गएर छलफल गर्ने तयारी छ,’ उनले भने।
सरकारले भारतबाट खसीबोका ल्याउन सहजीकरण गर्नुपर्ने उनले बताए। ‘सरकारी तहबाट पहल हुँदा आयात गर्न गाह्रो छैन,’ उनले भने।
पछिल्लो समय भारतमा समेत खसीबोकाको मूल्य बढेको भन्दै त्यसको असर नेपाली बजारमा पर्ने उनले बताए। भारतबाट आयात गर्दा लागत बढ्ने भएकाले अहिलेको मूल्यमा खसीबोका उपलब्ध नहुन सक्ने उनको भनाइ छ।
हाल कलंकीको खसीबजारमा दैनिक ४ सयदेखि ५ सय खसीबोका भित्रिने गरेका छन्। बजारको मागअनुसार आपूर्ति हुन नसक्दा जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० रुपैयाँ पुगेको छ। गत वर्ष दसैंमा यसको मूल्य प्रतिकिलो ७५० रुपैयाँ थियो। यस वर्ष दसैंअघि नै मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १०० रुपैयाँ बढिसकेको छ। दसैंमा पर्याप्त आपूर्ति नभए मूल्य अझ बढ्न सक्ने खतिवडाले बताए।
सरकारी कम्पनीले गत वर्षदेखि चौपाया खरिद–बिक्री नगर्दा आपूर्ति व्यवस्थापनको थप भार निजी क्षेत्रमाथि परेको उनले बताए। हरेक वर्ष दसैंका बेला ५० भन्दा बढी जिल्लाबाट खसीबोका उपत्यकामा भित्रिने गरेका छन्।
यस वर्ष च्याङ्ग्राको मूल्य पनि गत वर्षको तुलनामा महँगो हुने अनुमान गरिएको छ। ‘च्याङ्ग्राको उत्पादन कम छ भन्ने जानकारी आएको छ। यसपाली रसुवा र तातोपानी नाका बन्द हुँदा त्यसको असर मूल्यमा पर्ने देखिन्छ,’ खतिवडाले भने।
तातोपानी नाका सञ्चालनमा आए तिब्बतबाट च्याङ्ग्रा आयात गर्न सकिने र त्यसले मूल्य केही घटाउन सक्ने उनको भनाइ छ। अन्यथा यस वर्ष खसीबोका र च्याङ्ग्रा दुवैको मूल्य महँगो हुने उनले बताए।