BIZMANDU
www.bizmandu.com

ओली पार्टीभित्र झन् निरंकुश बन्दै, राजीनामा माग्ने र आलोचना गर्नेलाई बोल्नमा समेत अंकुश

२०८३ असोज ५

ओली पार्टीभित्र झन् निरंकुश बन्दै, राजीनामा माग्ने र आलोचना गर्नेलाई बोल्नमा समेत अंकुश
ओली पार्टीभित्र झन् निरंकुश बन्दै, राजीनामा माग्ने र आलोचना गर्नेलाई बोल्नमा समेत अंकुश


काठमाडौं। एक वर्षअघि जेनजी आन्दोलनमा प्रकट भएको जनआक्रोशका कारण सत्ताच्युत भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रको चौतर्फी आलोचनाबिच झन् निरंकुश बन्न थालेका छन्। ललितपुरमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओली कठोर रूपमा प्रस्तुत भएका छन्।

Vigo
GBIME
Tata

राजनीतिक प्रतिवेदनमा नेतृत्वको आलोचना हुनसक्ने र त्यसका लागि तयार भएको उल्लेख गरेका ओली बैठकमा भने कडिकडाउ रूपमा प्रस्तुत भएका हुन्। उनले आफ्नो आलोचना गर्ने र राजीनामा माग्ने नेताहरूलाई विचार राख्नमै प्रतिबन्ध लगाउने प्रयास गरेका थिए।

पार्टी पुनर्गठन पक्षीय नेताहरू पछिल्लो समय खुलेरै ओलीको राजीनामा मागिरहेका छन् भने महासचिव शंकर पोखरेलले प्रतिवेदन नै तयार पारेका थिए। तर, ओली पक्षबाट उपाध्यक्ष रामबहादुर थापा बादल र नेता प्रदीप ज्ञवालीले त्यसलाई अघि बढ्न दिएनन्। कार्यदलका संयोजक समेत रहेका बादल र सदस्य नै नरहेका ज्ञवालीले ओलीकै प्रशंसा गरेर प्रतिवेदन तयार पारे। उक्त प्रतिवेदन सचिवालय बैठकबाट पारित भइसकेको छ।

आफ्ना विरुद्धको पार्टीभित्रको माहौललाई तितरबितर बनाउन लागेका ओलीले केन्द्रीय कमिटीको बैठकमा नेता कृष्णगोपाल श्रेष्ठलाई बिचमा रोक्दै हप्काएका थिए। बिचमै रोकेपछि श्रेष्ठले ओलीसँग सवाल जवाफ गरे। उनले ओलीलाई ‘मलाइ रोक्ने तपाईं को हो?’ भनेपछि बैठकको माहौल केहीबेर तनावपूर्ण बनेको थियो। बैठकमा सहभागी नेताहरुका अनुसार ओलीले सुरुमै चेतावनीयुक्त भाषाबाट बैठकको सुरुवात गरे।

महासचिवले बैठक सञ्चालन गर्ने र ओलीले अध्यक्षता गर्ने तथा उद्घाटन मन्तव्य राख्ने अभ्यास विपरीत ओली आफैं धमाधम बैठक चलाउन थालेपछि ओलीको शैलीविरुद्ध श्रेष्ठ उभिएका थिए। ओलीले अरू नेताहरूको अभिव्यक्तिलाई समेत बेवास्ता गरेका छन्। उनले चुनावमा पराजित हुँदैमा नेतृत्व छोड भन्नु अराजकता भएको बताएका थिए।

‘एउटा चुनावमा धक्का खाँदैमा अध्यक्षबाटै हट भन्नु अराजकता हो। यस्तो पार्टीमा चल्दैन। हामीमाथि बाहिरको प्रहारलाई पार्टीभित्र ल्याउन उचित हुँदैन भनेर उहाँले सम्बोधन सुरु गर्नुभयो। बोल्ने कुरामा पनि आफ्नो आलोचना हुन थालेपछि अब भयो भन्नुहुन्थ्यो,’ उनले भने।

नेताहरूका अनुसार ओली आफ्ना विरुद्धको माहौललाई  स्विकार्न समेत तयार भएका छैनन्। अरुबेला महासचिव पोखरेललाई बैठक सञ्चालनको जिम्मा दिने गरेका ओलीले यस पटक आक्रोशित हुँदै आफैंले बैठक सञ्चालन गरिरहेका छन्। फरक विचार राख्न खोज्ने नेताहरूलाई समेत ओलीले निषेध गरिरहेका छन्।

नेता कर्ण थापाले फरक मतसहितको प्रस्ताव पेस गर्न खोजे पनि ओलीले आवश्यक नै नभएको भन्दै रोकेका छन्। त्यसपछि पुनर्गठन पक्ष ओलीप्रति झन् आक्रोशित बनेको छ। एमाले नेता ईश्वर पोखरेलले भारतबाट ओलीलाई पत्र पठाउँदै सम्मानजनक रूपमा अध्यक्षबाट राजीनामा गर्न आग्रह गरेका छन्। उक्त पत्रबारे पनि बैठकमा जानकारी गराइएको थियो।

बैठकमा बोल्ने पुनर्गठन पक्षधर नेताहरूले ओलीलाई अध्यक्ष छोड्नुपर्ने बताएका छन् भने ओली समूहमा रहेका नेताहरू पनि रक्षात्मक बनेका छन्। सचिवालयमा अल्पमतमा रहेका ओली केन्द्रीय कमिटीमा समेत समीकरणका हिसाबले अप्ठेरोमा छन्। अभिव्यक्तिमा आक्रोशित बनेका ओली राजनीतिक प्रतिवेदनमा भने रक्षात्मक देखिएका छन्। बैठक सञ्चालनमा समेत ओलीले अरू पदाधिकारी तथा नेताहरूलाई ठाडै बहिष्कार गरेको बैठकमा सहभागी नेताहरूको भनाइ छ।

उनले आफ्नो विकल्प खोज्न थालिए त्यसलाई अनुशासनको विषय बनाउने चेतावनी समेत बैठकमा दिएका छन्। ‘आलोचना र चरित्रहत्या एउटै कुरा होइनन् । विरोधी सञ्चालित चरित्र हत्यामा जानी वा नजानी स्वरमा स्वर मिलाएर पार्टीभित्र ल्याउनु हुँदैन। नीति, निर्णयको र क्रियाकलापको आलोचना लोकतान्त्रिक संस्कार हो । व्यक्तिको स्वास्थ्य, उमेर, शरीर, बोली वा जीवन सङ्घर्षलाई अपमानको सामग्री बनाउनु राजनीतिक संस्कार होइन,’ ओलीले राजीनामा मागिरहेका नेतालाई चेतावनी दिँदै भने।

उनले पार्टी पुनर्गठन कस्तो अवस्थामा हुन्छ भनेर आफू इतर नेताहहरुलाई बैठकमा पाठ पढाउन खोजेका थिए। कम्युनिस्ट आन्दोलनका विभिन्न मोडहरुलाई समेत ओलीले प्रतिवेदनमार्फत पुनर्गठन भएको भनेका छन्।

‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन। यो त असहज र असामान्य अवस्थामा बाध्यतावश गरिने कार्य हो। हाम्रो धारको आन्दोलनमा पार्टीमा तीन पल्ट पुनर्गठन गर्नु परेको थियो। त्यस बेला पार्टीको महासचिव रहेका “केशरजंग रायमाझी अगाडि देखिनै दक्षिणपन्थी र षडयन्त्रकारी त छँदै थिए, पछिल्लो समय उनको दक्षिणपन्थता अझ खुलस्त रूपमा प्रकट हुँदै आयो,’ उनले आफू इतर नेताहरूलाई भने।