काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सोमबार सेयर कारोबार बन्द भएको विषयलाई लिएर नेपाल स्टक एक्सचेन्जलाई जाँचबुझ गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
सेबोनले कारोबार रोक्नुपर्ने गरी भएको घटनाबारे अध्ययन तथा जाँचबुझ गरी आगामी दिनमा गर्नुपर्ने सुधारबारे सुझावसहित एक साताभित्र प्रतिवेदन बुझाउन भनेको हो।
‘नेप्सेलाई धितोपत्रको कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन मिति असोज १२ भित्र पेस गर्न निर्देशन दिइएको छ,’ सेबोनले भनेको छ।
७२ वटा ब्रोकरको सर्भर रहेको डेटा हबको डेटा सेन्टरमा सोमबार भएको साइबर आक्रमणका कारण सोमबार सेयर कारोबार बन्द गरिएको थियो।
सेबोनले सेयर कारोबार बन्द गरिएको जानकारीपछि प्राविधिक लगायत समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पहिल्याउनका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ।
सेबोनले टोलीको सुझावका आधारमा आगामी दिनमा बजारलाई स्वस्थ, सुरक्षित एवं पारदर्शी बनाउन थप कार्य अगाडि बढाउने जनाएको छ।